२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री ज्यू कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न : काँग्रेस

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई कालो चस्मा खोल्न आग्रह गरेको छ ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले कालो चस्मा खोल्न आग्रह गरेकी हुन् । मुलुकको हितमा चाल्ने सही कदममा प्रतिपक्ष साथमा रहेको उनले स्पष्ट पारिन् ।

उनले प्रधानमन्त्रीलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो ? भन्दै प्रश्न गरिन्। उनले भनिन्, ‘कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ। तर विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता, संविधान, संसदीय मर्यादा र अभ्यास तथा संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन।’

संसद्ले प्रश्न सोध्नु घेराबन्दी नभएको उनको भनाइ छ ।

उनले भनिन्, ‘प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन। प्रतिपक्षले दैनिक संसद्मा प्रश्न उठाउँदा नसुन्ने, जवाफ नदिने प्रधानमन्त्रीलाई सत्तापक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो ?’ ।

गल्ती स्वीकार गर्नु कमजोर होइन, सत्य सच्याउनु नेतृत्वको शक्ति भएको उनले बताइन् ।