२८ आश्विन २०८३, बुधबार

बालुवाटारमा प्रधानमन्त्री बालेन र रविबीच भेटवार्ता, के भयो कुराकानी ?

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार साँझ बालुवाटारमा करिब एक घण्टा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री साहलाई भेट्न सभापति लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

पछिल्लो समय प्रधानमन्त्री साह र लामिछानेबीच दूरी बढेको चर्चा भइरहेका बेला भएको भेटलाई सम्बन्धमा देखिएको तिक्तता कम गर्ने प्रयासका रूपमा हेरिएको छ ।

स्रोतका अनुसार भेटमा पार्टी र सरकारबीचको समन्वय, सरकारको कामकारबाहीबारे छलफल भएको थियो ।

हालै प्रधानमन्त्री साहले सामाजिक सञ्जालमा लेख्दै आफूले सहयोग नपाएको संकेत गर्दै एक्लो परेको आशय व्यक्त गरेका थिए । साहको उक्त टिप्पणीप्रति लामिछाने असन्तुष्ट रहेको पार्टी स्रोतको दाबी छ ।

सत्तारुढ रास्वपाकै सांसदहरूले सरकारको कामकारबाही र जनजीविकाका सवालमा संसदमा आलोचना गर्दै आएका छन् । उनीहरुले सरकारको कारकारबाहीबारे प्रश्च उठाइरहेका छन् । त्यसप्रति प्रधानमन्त्री साह पक्ष असन्तुष्ट रहेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार भेटमा सरकारलाई थप प्रभावकारी बनाउने, मन्त्रीहरूको कार्यसम्पादन समीक्षा गर्ने र आवश्यक परे मन्त्रिपरिषद् हेरफेर गर्नेसहित आगामी रणनीतिबारे छलफल भएको थियो ।

उनीहरुबीचको भेटमा केही राजनीतिक नियुक्तिका साथै प्रधानमन्त्री साहले गर्ने भनिएको भारत भ्रमण र सभापति लामिछानेले केही दिनपछि गर्ने भनिएको चीन भ्रमणका बारेमा पनि कुराकानी भएको बुझिएको छ ।

दुवै नेताबीचको छलफलमा प्रधानमन्त्रीको सचिवालयका कुनै सदस्य सहभागी नभएको बताइएको छ ।