काठमाडौं । स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिक्षित मेला ‘एचपी प्रेजेन्ट्स् नाडा अटो शो २०२६’को १८ औं संस्करण आयोजना गर्दैछ ।
आउँदो भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा हुने यो भव्य अटो शो सम्पूर्ण अटो, आयल एवं पार्टपुर्जा व्यवसायीहरूका लागि विशेष आकर्षण र व्यावसायिक प्रवर्द्धनको प्रभावकारी प्लेटफर्म बन्ने आयोजक नाडाले विश्वास लिएको छ।
नाडाका अनुसार यस वर्षको नाडा अटो शोमा साना र ठूला गरी कुल २०० वटा स्टलहरू रहनेछन् । प्रदर्शनीमा २२ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल, १६ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल र १२ वटा ब्राण्डका दुईपाङ्ग्रे सवारी साधनको सहभागिता रहनेछ । यसका साथै, ८ वटा नेपाली उत्पादकहरूसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रस्तुत गर्नेछन् ।
देशभरका अटो व्यवसायीहरूमाझ मेलालाई लिएर उत्साहजनक माहोल बनेकाले हालसम्म पनि स्टलका लागि अत्यधिक माग भइरहेको छ । तर प्रदर्शनीस्थलमा उचित ठाउँको अभावका कारण इच्छुक सबै व्यवसायीहरूलाई स्टल उपलब्ध गराउन अप्ठ्यारो परिरहेको आयोजकले जनाएको छ ।
स्वदेशी उत्पादनका साथै अन्तर्राष्ट्रिय ब्राण्डहरूको सहभागिता रहने यो अटो शोले सुस्ताएको अटो बजारलाई पुनः चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।













प्रतिक्रिया