काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान र बलिदान रहेको बताएका छन् ।
३२ औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालयद्वारा आइतबार काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले आन्दोलनमा योगदान गरेकैले त्यसको मर्म संविधान र राज्यव्यवस्थामा पनि समेटिएको बताए । उनले नेपालको संविधानको मूल मर्म समावेशी लोकतन्त्र, सामाजिक न्याय तथा समान अवसर रहेकाले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए । लोकतन्त्र, गणतन्त्र र संघीयताको प्राप्ति आदिवासी जनजातिको अधिकार प्राप्तिको संघर्षसँग गहिरो रूपमा जोडिएको उपराष्ट्रपति यादवको भनाइ थियो ।
संविधानले आदिवासी जनजाति, मधेसी, सीमान्तकृत तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गरिसकेकाले अब तिनको व्यावहारिक कार्यान्वयन आजको मुख्य आवश्यकता रहेको उनले उल्लेख गरे ।
उपराष्ट्रपति यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्दै लैजानसके मुलुकले हरेक क्षेत्रमा सकारात्मक फड्को मार्ने विश्वास व्यक्त गर्दै यसतर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी रहेको बताए ।
उपराष्ट्रपति यादवले नयाँ पुस्ताले आफ्नो मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै शिक्षा, विज्ञान र प्रविधिको आधुनिक प्रयोगमार्फत अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रमममा विभिन्नि जातजातीका झाँकीहरु प्रदर्शन गरिएको थियो ।















प्रतिक्रिया