२८ आश्विन २०८३, बुधबार

‘जोगिन्दर’ले ल्याए गाईजात्रे झटारो ‘बालेन सरकार’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले गाईजात्रे कमेडी ‘बालेन सरकार’ ल्याएका छन् । यस वर्षको (२०८३)को हास्य र व्यङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै उनले देशको समसामाहिक विषयदेखि राजनीति र नेतासम्मलाई व्यङ्ग्य गर्दै यो कोसेली ल्याएका हुन् ।

‘बालेन सरकार’मा उनले सरकारलाई सल्लाह र सुझावको रुपमा खबरदारी गर्दै गत फागुन २१ को निर्वाचलाई कटाक्ष समेत गरेका छन् । समग्र नेपालीहरुको बानी व्यहोरालाई समेत प्रहार गरेका उनको यो कोसेली ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

विगत २३ वर्षदेखि नियमित व्यङ्ग्यका कोसेली ल्याउदै आएका उनको ‘बालेन सरकार’ दर्शक तथा श्रोतालाई हास्य व्यङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिन र चेतना प्रवाह गर्ने उद्देश्यले ल्याएको कलाकार जोगिन्दरले बताए ।

‘गाइजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव हो । अहिले यस्ता कोसेलीको ब्यवसायिकता त छैन’, रिजालले भने ‘वर्षेनी दर्शक श्रोता मेरो कोसेलीको पर्खाइमा बस्नुहुन्छ । दर्शकको मायाले गर्दा पनि आम्दानी नभएपनि यस्तलाई निरन्तरता दिदै आएको छु ।’

लेखन, निर्देशन, प्रस्तुति समेत ‘जोगिन्दर’कै रहेको ‘बालेन सरकार’मा झलकमान गन्धर्वको चर्चित गीत ‘आमाले सोध्लिन् नि’माथि प्यारोडी पनि बनाएका छन् । जसमा लोकप्रिय लोकदोहोरी गायक राजु परियारले स्वर दिएका छन् । लोकराज अधिकारीको शब्द, अष्ट लामाको संगीत संयोज रहेको प्यारोडीमा एमाले, कांग्रेस, माओवादीदेखि देशका सम्पूर्ण पार्टीमाथि व्यङ्ग्य गरिएको छ । यो कोसेलीमा समन अधिकारीको कोरियोग्राफी, प्रेम शर्माको सम्पादन र हरि ढकालको छायांकन छ । यसको पोष्ट प्रोडक्सन कोचे मिडियाले गरेको हो ।

रिजालको ‘बालेन सरकार’ २३ औं कोसेली हो । गत वर्ष उनले ‘मिस चौरासी’ ल्याएका थिए । जसको चर्चा राम्रो भएको थियो । विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यव्यङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु हास्य कलाकारको धर्म नै मान्दछन् ।