२८ आश्विन २०८३, बुधबार

रास्वपा जिताउने फिल्मका कलाकारले नै भने– देशका ९० प्रतिशतमा निराशा छ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कलाकार खगेन्द्र लामिछानेले देशका ९० प्रतिशत निराशामा रहेको जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई तिहाई सरकार बनेको चार महिनापछि अभिनेता लामिछानेले देशका ९० प्रतिशत मानिस निराशमा रहेको उल्लेख गरेका हुन् ।

‘मेरो स्वभाव अलि गफ गर्नुपर्ने भएकोले संयोगले भेट हुने मानिसहरुसँग मैले कुरा गर्छु, त्यस्ता मानिसहरुमा सबै वर्ग र क्षेत्रका पर्छन् तर भेट भएका लगभग ९० प्रतिशत मानिसहरु भविष्यप्रति एकदमै निराश छन्, यो वर्तमानको यथार्थ हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

कलाकारले कलाकारिता क्षेत्रमा भविष्य देखेन भने ऊ निराश भएर त्यो क्षेत्र छोड्ने गरेको जनाउँदै उनले अगाडी लेखेका छन्, ‘देशको लागि निराशा सबैभन्दा घातक रोग हो । त्यसैले नागरिकमा जन्मेको यो चरम निराशालाई बेलैमा उपचार गरौँ है । सुन्दा त यो कुरा अलि बढी सैद्धान्तिक लाग्छ तर यो कुरा अलि ठूलो स्केलको तर आँखाले प्रत्यक्ष नदेखिने मनोभावरुपी ठूलो रोग हो ।’

‘टलकजंग भर्सेज टुल्के’ तथा ‘पशुपतिप्रसाद’ मात्रै होइन रास्वपालाई चुनाव जिताउने वातावरण तयार पार्नका लागि बनाइएको आरोप लागेको ‘दिमाग खराब’ चलचित्रका प्रमुख अभिनेता लामिछानेले आफ्नो पछिल्लो अनुभव सामाजिक सञ्जालमार्फत सेयर गरेका हुन् ।

‘नेताहरुले बोल्ने सही शब्द, वाक्य र भविष्यप्रति आशा जगाउने कुराहरुले यो रोग लागेका मानिसहरुलाई तत्कालका लागि मल्हमको काम गर्छ । त्यसकारण नेताज्यूहरु, समयमै उपचार सुरु गरौँ । नत्र अब आउने ठूलो संकटलाई कसैले पनि थेग्न सक्दैन,’ उनले चेतावनी पनि दिएका छन् ।