–सञ्जय
‘कंक्रीटको जंगलमा बसियो
गाउँतिर जस्तो
दाउरा टिप्न पनि पाइएन,
अठार दिन भो
घाम पानी झरी बादल नभनी
पालो आउँछ कि भनेर
लाइनमा कुरी बसेको,
असत्ती ग्यास भन्ने जिनिस आएन
हामी त हामी नै भयौँ
निमोनियाले थलिएकी
चौरासी कटेकी आमालाई
तातो पानी पनि भएन’
भनेर कति पीरलो गर्छेस ए प्यारी
भो पीरलो नगर,
ढुक्क हुनु, देश बन्दै छ त ।
‘बाउको एउटो राँगो बेचेको पैसोले
जापान कोरिया आँट गर्न सकिएन,
युरोप अमेरिका त झन परकै कुरो भो,
दुबई कतार भए पनि
जाम् न त भनी आँटेको,
उता बा दिनकै फोन गरेर सोध्छन्,
यता पासपोर्टको लाइन कहिल्यै सर्दैन,
बार्ह दिन भइसक्यो लाइन लागेको
उभिँदा उभिँदा गोडा सुन्निन थालिसक्यो
पालो कहिल्यै आउँदैन,
नभए दुई चार दिनलाई भए पनि
खेत हिल्याउन आइज,
मानो खाएर मुरी फलाउने बेलामा,
किन अरलिन्छस त्यतातिर ?
भनेर गन्गन् गर्छन् बा,
जाउँ कि कुरुँ, के गरुँ कसो गरुँ ?
यस्तो सम्म पनि दुखः दिन हुन्छ ?
के तालको व्यवस्था हो यो ?
भनेर धेरै रीस, राग र रोइलो नगर कान्छ,
यत्ति बुझ, गरीबको दिन फिर्दै छ,
ढुक्क हुनु, देश बन्दै छ ।
‘तीसौँ वर्ष दुईजामीले ज्यामी मजदुरी गरेर
सम्पत्तिको नाममा जोडेको त्यै एउटा घर
डोजरले गुटुङटुङटुङ भत्काएको हेर्न नसकेर
नदीमा हेलिएको पति परमेश्वरलाई सम्झिएर
भोकले लपेटिएर केही बोल्न नसकेका
आँखाभरि टिलपिल टिलपिल आँशु रसाएका
असारे मुल झैँ आँशुका भेल बगाउन तयार भएका
अबोध लालावालाको अनुहार हेरेर,
होल्डिङ सेन्टरको भेलबाढीमा
टुहुरा नानीहरु अनि पोका पुन्तरा सम्हाल्दा सम्हाल्दै
त्यो निर्दयी मुसलधारे वर्षा र भेलबाढीले
अलि अलि बाँकी रहेको लाउने, ओढ्ने, ओछ्याउने
सबै बगाएर लगेको सम्झेर,
बाँच्ने आधार केही रहेन’
भनेर किलो हालेर कति रुन्छेस ए साँइली ?
तीनै टुहुरा लालावालाको मुख हेरेर
मन दर्हो गर्नु पर्छ,
उनीहरुकै लागि बाँच्नु पर्छ,
धेरै रोइलो अनि रुवावासी गर्नु पर्दैन,
लालपुर्जा छिट्टै आउँदै छ,
सुकुम्बासीको दिन फिर्दै छ,
ढुक्क हुनु, देश छिट्टै बन्दै छ ।
जन्मदै खुकुरी, बन्दुक र गोली बारुद सँग खेल्ने
प्रताप लिएर जन्मेका हामी नेपाली,
सक्नेले छप्काए, पड्काए, ढाले,
नसक्नेहरु छप्किए, गोली खाए, ढले,
दुईचार जनाले शहादत प्राप्त गरे त के भो ?
केही आमाहरुको काख रित्तियो,
केही बाहरुको बुढ्यौलीको लट्ठी भाँच्चियो,
त्यत्ति न हो काका,
बित्थामा ‘नेपाली सौहार्द्रताको संस्कार मासियो,
धार्मिक सहिष्णुता खलबलियो,
सामाजिक सद्भाभाव खरानी भो,
राजनीति फोहोरी भो,
विदेशी चलखेल बढ्यो,
देश डुब्ने भो,
नेपाल नेपाल नरहने भो’
भनेर किन चिन्ता गर्छौ ए काका ?
यतिविधि पीरलो गर्नु पर्दैन काका,
भ्रष्टाचारीसँगै भ्रष्टाचार पनि जाँदै छ,
सुशासन आउँदै छ,
ढुक्क हुनु, देश बन्दै छ ।











प्रतिक्रिया