काठमाडौं । नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को पछिल्लो अभिव्यक्तिप्रति टिप्पणी गर्दै राजनीति भावनात्मक स्टाटसबाट नभई काम र परिणामबाट मूल्यांकन हुने बताएका छन् ।
प्रधानमन्त्री बालेनले गएराति फेसबुकमा लेखेका थिए, ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन ।’
उक्त स्टाटसले बालेनमाथि सत्ता त्यागका लागि व्यापक दबाब बढिरहेको बस्नेतको टिप्पणी छ ।
‘मध्यरातमा आएको बालेनजीको यो स्टाटस पढ्दा लाग्छ, उनीमाथि सत्ता त्यागको लागि व्यापक दबाब बढ्दै गएको छ र आफ्नै निर्णय तथा कार्यशैलीलाई सही सावित गर्नुपर्ने बाध्यता देखिन्छ ।’ बस्नेतले फेसबुकमा लेखेका छन् ।
सचिव बस्नेतले जनताले ‘सही समय आउँछ’ भन्ने आश्वासनभन्दा आफूले भोगिरहेका समस्या समाधान भएको र जीवनमा वास्तविक उन्नति तथा प्रगति भएको देख्न चाहेको बताए ।
बस्नेतले बालेनले ‘एक्लै लडेको’ दाबी गर्नुअघि चुनावमा प्राप्त जनमत र जनताको विश्वासलाई बिर्सन नहुने पनि बताए । जनताले साथ दिएर सत्तामा पुर्याएको अवस्थामा जनताका प्रश्न र आलोचनाबाट भाग्न नमिल्ने बस्नेतको भनाइ छ ।
समयले सबै कुरा परिवर्तन नगर्ने उल्लेख गर्दै बस्नेतले काम, व्यवहार र परिणाम नै नेतृत्वको वास्तविक मापदण्ड भएको बताए । उनका अनुसार गल्ती सच्याउने र जनताप्रति जवाफदेही हुने समय पनि यही हो ।
‘समय अवश्य आउँछ, तर समयले मात्र सबै कुरा बदल्दैन । काम, व्यवहार र परिणाम नै असली मापदण्ड हुन् । गल्ती सच्याउने र जवाफ दिने समय पनि यही हो । अन्ततः स्टाटसले होइन, इतिहासले फैसला गर्नेछ, को सही थियो, को गलत थियो ।’ बस्नेतले लेखेका छन् ।














प्रतिक्रिया