काठमाडौं । मध्यपूर्वमा जारी तनावका बीच इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको र उनलाई अस्पताल भर्ना गरिएको इजरायली सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।
यसबारे हालसम्म इरानी सरकार वा कुनै पनि आधिकारिक निकायले उक्त दाबीबारे प्रतिक्रिया जनाएका छैनन् ।
इजरायली सञ्चारमाध्यमहरूले भित्री स्रोतलाई उद्धृत गर्दै दाबी गरेअनुसार खामेनीको अवस्था गम्भीर छ र उनी अस्पतालमा जीवनरक्षाका लागि संघर्ष गरिरहेका छन् । साथै, रिपोर्टहरूमा उल्लेख गरिएअनुसार उनको मृत्युको खबर छिट्टै सार्वजनिक भएमा त्यसमा कुनै आश्चर्य हुनेछैन ।
इजरायली समाचारमाध्यम च्यानल १४ ले इरानी स्रोतहरूलाई उद्धृत गर्दै खामेनीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको जनाएको छ ।
२८ फेब्रुअरी २०२६ मा अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणमा आफ्ना पिता आयतोल्लाह खामेनीको मृत्यु भएपछि मोज्तबा खामेनीले इरानको सर्वोच्च नेताको पद सम्हाले ।
पदभार ग्रहण गरेयता मोज्तबा सार्वजनिक रूपमा देखा परेका छैनन् । उनले लिखित विज्ञप्तिहरूमार्फत मात्रै सञ्चार गरेका छन्, जसका कारण लामो समयदेखि उनको स्वास्थ्य अवस्थाबारे व्यापक अड्कलबाजी भइरहेको छ ।
पछिल्लो रिपोर्टहरूका अनुसार, सुरुवाती सैन्य आक्रमणहरूमा मोज्तबा खामेनी घाइते भएका थिए ।
मोज्तबाको अनुहारमा गम्भीर चोट लागेर स्वरूप नै पूर्ण रूपमा बिग्रिएपछि उनी भूमिगत हुन बाध्य भए । त्यसपछि, सुरक्षाका लागि उनलाई गोप्य स्थानमा सारिएको थियो ।
रिपोर्टहरूमा दाबी गरिएअनुसार, उच्च अधिकारीहरूसम्म सन्देश पुर्याउन मोज्तबाले मध्यस्थकर्ताहरूको सञ्जालमा भर पर्नुपरेको थियो ।
यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियनको एक भनाइ चर्चामा आएको छ । इरानी सरकारी सञ्चारमाध्यमसँगको हालैको अन्तर्वार्तामा पेजेस्कियनले सर्वोच्च नेता मोज्तबासँग संवाद गर्नु हाल निकै कठिन रहेको स्वीकार गरेका थिए ।
जुलाईमा साउदी समाचार संस्था अल–हदाथले इजरायली स्रोतलाई उद्धृत गर्दै मोजतबा खामेनी इरानमा नरहेको दाबी गरेको थियो । सोही समयताका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा इरानको शीर्ष सैन्य नेतृत्वलाई समाप्त पारिएको बताएका थिए । उनले सैन्य कारबाहीपछि मोज्तबा ९० प्रतिशत समाप्त भइसकेको र काम गर्न नसक्ने अवस्थामा पुगेको दाबी पनि गरेका थिए । यद्यपि, इरानी अधिकारीहरूले यसअघि मोजताबा खामेनीलाई लागेको चोट गम्भीर थियो भन्ने कुरा स्वीकार गर्न अस्वीकार गरेका थिए । उनीहरूले मोज्तबाले नै मुलुकको रणनीतिक तथा प्रशासनिक निर्णयहरूको नेतृत्व गरिरहेको बताउँदै आएका छन् ।
इरानको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पनि यसअघि मोज्तबाका सुरुवाती चोटपटकहरू सामान्य प्रकृतिका रहेको बताएका थिए । हाल मोज्तबा अस्पतालमा भर्ना भएको वा उनको अवस्था गम्भीर रहेको भन्ने दाबीका सम्बन्धमा इरानले कुनै आधिकारिक भनाइ जारी गरेको छैन । यद्यपि, सार्वजनिक रूपमा नदेखिनु र प्रत्यक्ष रूपमा सम्बोधन नगर्नुजस्ता कारणले गर्दा मोज्तबाको स्वास्थ्य तथा नेतृत्वको स्थिरताका विषयमा क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा विभिन्न अड्कलबाजीहरू अझ बढिरहेको छ ।













प्रतिक्रिया