२८ आश्विन २०८३, बुधबार

युगाण्डाका फुटबलस्टार एससी भिल्लाका कप्तान डेभिड ओवोरीको हत्या

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युगाण्डाका अन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा देशको सबैभन्दा ठूलो फुटबल क्लबमध्ये एकका कप्तान डेभिड ओवोरीको हत्या गरिएको छ ।

राजधानी कम्पालामा भएको आक्रमणपछि कप्तान ओवोरीको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

युगाण्डाको कीर्तिमानी च्याम्पियन क्लब ‘एससी भिल्ला’का कप्तान रहेका २८ वर्षीय ओवोरी मंगलबार कम्पालाको उपनगरमा अज्ञात आक्रमणकारीबाट प्रहार हुँदा गम्भीर घाइते भएको प्रहरी प्रवक्ता राचेल कावालाले जानकारी दिइन् ।

समाचार अनुसार ओवोरीलाई बाटो हिँड्ने मानिसहरूले अचेत अवस्थामा फेला पारेर नजिकैको अस्पताल पुर्‍याएका थिए । उनलाई अर्को अस्पतालमा सारियो, जहाँ उपचारको क्रममा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।

‘डेभिड केवल एक फुटबल खेलाडी मात्र थिएनन्, उनी एक नेता र एउटा पुस्ताका लागि प्रेरणाको स्रोत पनि थिए । एससी भिल्लाको कप्तानका रूपमा उनले साहस, विनम्रता र जोशका साथ नेतृत्व गरे । युगाण्डा क्रेन्सको जर्सी लगाएर उनले राष्ट्रको आशा बोकेका थिए,’ युगाण्डा फुटबल संघले एक विज्ञप्तिमा भन्यो ।

पूर्वी अफ्रिकी मुलुकको राजधानीमा अपराधको बिगबिगी छ र धेरै युगाण्डालीहरूले ‘एक्स’मा उनको मृत्युप्रति आक्रोश व्यक्त गरिरहेका छन् । उनीहरूले अपराध नियन्त्रण गर्न अधिकारीहरू असफल भएको भन्दै आलोचना पनि गरेका छन् ।

ओवोरीको मृत्यु गोन्गोड्योको मृत्युपछि भएको हो, युगाण्डाको राजधानीमा अन्तर्राष्ट्रिय रग्बी खेलाडी सिड्नी गोन्गोड्योको हत्या भएको केही हप्तामै उनको पनि हत्या भएको हो ।

प्रहरीका अनुसार गोन्गोड्योको जुन महिनामा कम्पालामा भीडको आक्रमणबाट मृत्यु भएको थियो, जतिबेला उनलाई झुक्किएर चोर ठानिएको थियो ।

‘दुःखको कुरा, हालैका दिनहरूमा युगाण्डाको खेलकुद क्षेत्रले यस्ता धेरै दुःखद् घटनाहरूको सामना गरिरहेको छ, हामी न्याय र दिगो समाधानको अपेक्षा गर्छौं,’ सरकारी निकाय नेशनल काउन्सिल अफ स्पोर्ट्स युगाण्डाले विज्ञप्तिमा भनेको छ ।

संसदको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार उपसभामुख थोमस तायेब्वाले अधिकारीहरूलाई देशमा रहेका व्यापक सुरक्षा चुनौतीहरू सम्बोधन गर्न आग्रह गरेकी छिन् ।

गत सिजन कप्तानका रूपमा ओवरीले ट्रफी उचाल्दा एससी भिल्लाले युगान्डा लिग उपाधिका लागि गरेको २० वर्ष लामो प्रतीक्षा पूरा गरेको थियो । यो उनीहरूको कीर्तिमानी १७ औं युगान्डा लिग उपाधि थियो ।