काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले दुई वर्षपछि पहिलोपटक बुधबार भर्चुअल माध्यमबाट बंगलादेशी जनतालाई सम्बोधन गरेकी छन् ।
बुधबार साँझ नयाँ दिल्लीस्थित फरेन करेस्पोन्डेन्ट्स क्लबमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री हसिनाले २५ मिनेट लामो सम्बोधन गरिन् ।
हसिनाले डिसेम्बरमा बंगलादेश फर्कने आफ्नो अडान दोहोर्याइन् । उनले आफ्नो फिर्ती सत्ताका लागि नभई बंगलादेशलाई विकासको बाटोमा पुनः अघि बढाउन हुने बताइन् ।
पूर्वप्रधानमन्त्री हसिनाले आफू जेल पर्न वा मारिन सक्ने समेत बताइन् । अब जुनसुकै परिस्थिति आए पनि आफू आफ्ना जनतामाझ फर्कने उनको भनाई थियो ।
‘मलाई थाहा छ कि उनीहरूले मलाई जेलमा हाल्न वा मार्न पनि सक्छन्, तैपनि म डिसेम्बरमा बंगलादेश फर्कनेछु । जनसमर्थन मेरो लागि अत्यन्त महत्त्वपूर्ण छ । मृत्युदण्ड, झुटा आरोप र नक्कली मुद्दाको सुनुवाइले मलाई तर्साउन सक्दैनन् । मविरुद्धको कानुनी कारबाही गैरकानुनी, असंवैधानिक र राजनीतिक रूपमा प्रेरित छ ।’ उनले भनिन् ।
हसिनाले आफूले स्वेच्छाले बंगलादेश नछोडेको पनि बताइन् ।
प्रदर्शनकारीहरू निवासतर्फ अघि बढिरहँदा उनले त्यहाँबाट निस्कनका लागि ३० देखि ४० मिनेटको समय मात्र पाएकी थिइन् ।
उनले आफू त्यसबेला आफू देश छोड्दै छु भन्ने कुरा आफूलाई समेत थाहा नभएको बताइन् ।
उनी आफू आफ्नो पुर्ख्यौली गाउँ तुंगीपाडा जाने तयारीमा रहेको तर परिस्थितिले गर्दा उनले देश छोड्नुपर्ने अवस्था बनेको खुलाइन् ।
हसिना अगस्ट २०२४ देखि भारतमा बस्दै आएकी छन् । आन्दोलनका कारण उनको सरकार ढलेपछि उनी ढाका छोड्न बाध्य भएकी थिइन् ।
गत नोभेम्बरमा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले सन् २०२४ को आन्दोलनका क्रममा प्रदर्शनकारीहरूमाथि दमन गरिएको भन्दै मानवताविरुद्धको अपराधमा उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
त्यसयता बंगलादेश सरकारले भारतसँग उनको सुपुर्दगीको माग निरन्तर गरिरहेको छ ।
यसैबीच, बुधबार हसिनाको सम्बोधनपछि बंगलादेश सरकारले एक विज्ञप्ति जारी गर्दै असन्तुष्टि व्यक्त गरेको छ ।
उक्त विज्ञप्तिमा नरसंहारका लागि जिम्मेवार ठानिएकी हसिनालाई दिल्लीमा सञ्चारमाध्यमसँग कुराकानी गर्न दिइएको र त्यहाँ उनले बंगलादेश तथा जनताविरुद्ध विषवमनपूर्ण टिप्पणी गरेकोमा आपत्ति जनाइएको छ ।















प्रतिक्रिया