३१ आश्विन २०८३, शनिबार

काठमाडौंमा सुकुम्बासीलाई लालपूर्जा दिन स्थानीय तहले असहयोग गरेका मन्त्री रावलको गुनासो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भूमिसुधार मन्त्री प्रतिभा रावलले काठमाडौंमा सुकुम्वासीलाई लालपूर्जा दिने काममा स्थानीय सरकारले असहयोग गरेको गुनासो गरेकी छिन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गरेको भूमिहीन सुकुम्वासीको समस्याका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलका क्रममा मन्त्री रावलले स्थानीय तहले सूचना नै ननिकालेर असहयोग गरेका बताएका हुन् ।

उनले भनिन्, ‘काठमाडौंका हकमा भएको यही नै हो । होल्डिङ सेन्टरबाट ३८८ जनाको परिवारको लगत संकलन गरिएको थियो । उनीहरूमध्ये ५८ परिवारको निवेदन फारम भरेर सम्बन्धित पालिकामा पठाइयो । ५१ परिवारको निवेदन अस्वीकृत भयो भने ५१ परिवारको पहिल्यै आयोगमा दर्ता भएको हुँदा भोली सूचना प्रकाशित हुँदैछ । तर हामीले सम्बन्धित जिल्ला तथा पालिकामा पठाएका सूचना वडाहरूले निकाल्नुपर्ने थियो । तर ४ वटा पालिकाले बाहेक अरूले परिवारको सूचना नै निकालिदिनुभएन ।’

उनले यसका लागि सांसदहरूसँग सहयोग माग्दै स्थानीय तहमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव सर्कुलर गर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘यो विषयमा विपक्षी दलहरू पनि चिन्तित हुनुहुन्छ भने यो सार्वजनिक महत्वको प्रस्तावको कपि सम्बन्धित पालिकालाई पठाउनुस् । ताकि उनीहरूले पनि समस्याको गहिराई महसुस गरुन् ।’