काठमाडौं । अमेरिका र इरानबीचको वार्ताअघि खाडी क्षेत्रमा तनाव बढेको छ ।
द जेरुसेलम पोस्टको एक रिपोर्ट अनुसार, इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी)ले मंगलबार बिहान कम्तिमा तीनवटा ड्रोन प्रयोग गरी कुवेतस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गरेको छ । हालसम्म कुनै क्षति वा हताहतीको आधिकारिक पुष्टि भएको छैन ।
इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार, स्थानीय अरब सञ्चारमाध्यमहरूले इराकको बसरा प्रान्तमा ठूला विस्फोटका आवाज सुनिएको जनाएका छन् । बसरा प्रान्तको सीमा इरान र कुवेत दुवैसँग जोडिएको छ ।
यस्तै, युके म्यारिटाइम ट्रेड अपरेसन्सले ओमानको तट नजिकै एउटा मालवाहक जहाजमा अज्ञात प्रक्षेप्य प्रहार भएको जनाएको छ । उसले घटनाको अनुसन्धान सुरु गरिएको र जहाजहरूलाई सावधानी अपनाउन सुझाव दिएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै सम्झौताका लागि इरानसँग अब अन्तिम मौका रहेको बताएका छन् । उनले वार्ता विफल भएमा अमेरिका सैन्य कारबाही गर्न पछि नहट्ने दोहोर्याएका छन् ।













प्रतिक्रिया