काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) ले संस्थाभित्र भएको बृहत् एकतालाई व्यवहारमा उतार्न वर्तमान नेतृत्व गम्भीर बन्नुपर्ने बताएका छन्। एकताका लागि भएका सहमति कार्यान्वयनमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै उनले नेतृत्वलाई विगतका प्रतिबद्धता इमान्दारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेका हुन्।
संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, वर्तमान अध्यक्ष तथा तत्कालीन स्टेरिङ कमिटीका सदस्यहरूलाई सम्बोधन गर्दै शर्माले जारी गरेको सन्देशमा बृहत् एकताका क्रममा भएको दशबुँदे मूल सहमति तथा त्यसपछिका लिखित र मौखिक समझदारी अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको उल्लेख गरेका छन्। सहमतिको भावना व्यवहारमा नदेखिँदा संस्थाभित्र अन्योल र असन्तुष्टि बढ्न सक्ने संकेत पनि उनले गरेका छन्।
उनले विशेषगरी गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या, विदेशस्थित नेपालीहरूको लगानी, अधिकार र हितसँग सम्बन्धित मुद्दाहरू संस्थाको प्राथमिकताबाट क्रमशः ओझेलमा पर्दै गएको बताएका छन्। उनका अनुसार, विश्वभर रहेका गैरआवासीय नेपालीले संस्थाबाट अपेक्षा गरेका मूल एजेन्डाभन्दा आन्तरिक विषयले बढी स्थान पाउन थालेको अवस्था चिन्ताजनक छ।
शर्माले पूर्वअध्यक्ष बद्री केसी र महेश श्रेष्ठलाई एकताको मूल मर्म तथा विगतका सहमतिहरू कार्यान्वयनमा थप सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्। साथै अध्यक्ष डा. हेमराज शर्मालाई सम्पूर्ण पक्षको साझा नेतृत्वका रूपमा उभिँदै सबैलाई समेटेर संस्थालाई अघि बढाउन अनुरोध गरेका छन्।
उनले एनआरएनए कुनै व्यक्ति, समूह वा गुटको संस्था नभई विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरूको साझा संस्था भएकाले व्यक्तिगत सोचभन्दा संस्थागत सहमति र सामूहिक निर्णयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
पूर्वअध्यक्ष शर्माले संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, वर्तमान नेतृत्व तथा तत्कालीन स्टेरिङ कमिटीका सदस्यहरूको सहभागितामा यथाशीघ्र विशेष बैठक बोलाउन पनि आग्रह गरेका छन्। सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा उठिरहेका प्रश्नहरूको समाधान संस्थाभित्रै गम्भीर छलफलमार्फत खोजिनुपर्ने उनको धारणा छ। साझा धारणा निर्माण गरेर मात्रै संस्थाप्रति बढ्दै गएको जिज्ञासा र अन्योल अन्त्य गर्न सकिने उनले उल्लेख गरेका छन्।
उनका अनुसार तत्काल बैठक आह्वान गरी विगतका सहमति, वर्तमान अवस्था र आगामी कार्यदिशाबारे स्पष्ट, जिम्मेवार र परिणाममुखी छलफलको वातावरण सिर्जना गर्न आवश्यक छ। संस्थालाई एकताबद्ध, प्रभावकारी र परिणाममुखी बनाउने दायित्व सम्पूर्ण नेतृत्वको रहेको उनले बताएका छन्।
एनआरएनए विगतमा नेतृत्वबीचको विवाद, अविश्वास र आन्तरिक द्वन्द्वका कारण लामो समय विभाजित बनेको थियो। लामो प्रयासपछि विभिन्न पक्षबीच सहमति जुट्दै एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा त्यसलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिए संस्था पुनः पुरानै अवस्थातर्फ फर्किन सक्ने चिन्ता पनि व्यक्त हुन थालेको छ।
पूर्वअध्यक्ष शर्माको पछिल्लो अभिव्यक्तिलाई वर्तमान नेतृत्वप्रति विगतका प्रतिबद्धता कार्यान्वयन गर्न गरिएको गम्भीर सन्देशका रूपमा हेरिएको छ। प्रत्यक्ष रूपमा कसैमाथि आरोप नलगाए पनि उनले सहमति कार्यान्वयनमा देखिएको सुस्तता अन्त्य गर्दै संस्थालाई गैरआवासीय नेपालीहरूको साझा हित, अधिकार र मूल एजेन्डामा केन्द्रित गर्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।













प्रतिक्रिया