२८ आश्विन २०८३, बुधबार

जर्मनीमा अत्याधिक गर्मीका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्लिन । जर्मनीमा अत्यधिक तापक्रमका कारण करिब १० हजार बढी मानिसहरूको मृत्यु भएको छ ।

रोबर्ट कोच इन्स्टिच्युटको अनुमान अनुसार यस वर्ष जर्मनीमा अत्यधिक तापक्रमका कारण करिब १० हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको हो, जो सन् २०१६ यता कुनै पनि पूर्ण वर्षको तुलनामा यो संख्या बढी नै हो । उक्त संस्थाले अप्रिलको सुरुवातदेखि जुलाई १९ सम्मको अवधिमा गर्मीसँग सम्बन्धित ९ हजार ८०० मृत्यु भएको अनुमान गरेको छ । विगत दशकमा वार्षिक मृत्युको अघिल्लो उच्च संख्या सन् २०१८ मा करिब ९ मात्रै थियो ।

यस वर्ष भएका मृत्युमध्ये ५ हजारभन्दा बढी घटनाहरू गत जुन महिनाको उत्तरार्धमा चलेको तीव्र ‘हिटवेभ’ अर्थात अत्यधिक गर्मीको लहरसँग सम्बन्धित थिए, जतिबेला केही क्षेत्रहरूमा तापक्रम ४२ डिग्री सेल्सियस अर्थात १०७.६ डिग्री फरेनहाइटको हाराहारीमा पुगेको थियो ।

युरोपेली संघको ‘कोपरनिकस क्लाइमेट सर्भिस’ले जनाएअनुसार पश्चिमी युरोपमा सन् २०२६ को गत जुन महिना अहिलेसम्मकै सबैभन्दा तातो महिनाको रूपमा रेकर्ड गरिएको थियो ।

जर्मनीको संघीय तथ्याङ्क कार्यालयले जुन २२ देखि २८ सम्मको अवधिमा मृत्यु हुनेहरूको संख्या गत वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले बढी रहेको जनाएको छ । रोबर्ट कोच इन्स्टिच्युटले उक्त अवधिमा भएका कम्तिमा ५ हजार १०० मृत्युको कारण अत्यधिक गर्मीलाई मानेको छ। जबसम्म कुनै व्यक्तिको मृत्यु ‘हिटस्ट्रोक’ अर्थात अत्यधिक गर्मीका कारण हुने स्वास्थ्य समस्याजस्ता अवस्थाबाट हुँदैन, तबसम्म गर्मीलाई मृत्युको प्रत्यक्ष कारणको रूपमा विरलै मात्र उल्लेख गरिन्छ ।

धेरैजसो अवस्थामा उच्च तापक्रमले पहिलेदेखि नै रहेका मुटु तथा रक्तनली, श्वासप्रश्वास वा मिर्गौलासम्बन्धी समस्याहरूलाई अझ गम्भीर बनाउँछ । त्यसैले मृत्यु दर्ता प्रमाणपत्रमा गर्मीको उल्लेख प्रायः हुँदैन र यसलाई कहिलेकाहीँ ‘मृत्युको मौन कारण’ भनेर पनि वर्णन गरिन्छ ।

इन्स्टिच्युटले गर्मीको समयमा भएका वास्तविक मृत्युको संख्यालाई वर्षको सोही समयमा सामान्यतया अपेक्षा गरिने मृत्युको संख्यासँग तुलना गरेर गर्मी सम्बन्धित मृत्युको अनुमान गरेको जनाएको छ । यसको अनुगमन प्रतिवेदन सार्वजनिक गर्न केही ढिलाइ हुने गर्छ किनभने यो आंशिक रूपमा संघीय तथ्याङ्क कार्यालयद्वारा संकलित मृत्युसम्बन्धी तथ्याङ्कमा निर्भर हुन्छ ।

अप्रिलको सुरुदेखि जुलाई १२ सम्मको अवधिमा करिब ७ हजार ९०० जनाको मृत्यु भएको अनुमान गरिएको थियो । जुलाई १३ देखि १९ सम्मको अवधिमा थप १ हजार ९०० जनाको मृत्युको कारण गर्मीलाई मानिएको छ । तसर्थ, गर्मीयामको अन्तिम तथ्याङ्क अझ बढ्न सक्छ किनभने हालको अनुमानमा जुलाई १९ पछिको गर्मीको अवस्था समेटिएको छैन र मृत्युसम्बन्धी थप पूर्ण तथ्याङ्क उपलब्ध भए पछि यसमा संशोधन हुनसक्ने जर्मनका मिडियाले उल्लेख गरेका छन् ।

उनीहरूका अनुसार अनुमानित मृत्युमध्ये ७५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरूको संख्या करिब ७ हजार ९०० थियो ।

यी तथ्याङ्कहरूमा ८५ वर्ष वा सोभन्दा बढी उमेरका ५ हजार ४२० जना, ७५ देखि ८४ वर्ष उमेर समूहका २ हजार ४६० जना र ६५ देखि ७४ वर्ष उमेर समूहका १ हजार २६० जना समावेश थिए । मृत्यु हुनेहरूमध्ये करिब ६३० जना ६५ वर्षभन्दा कम उमेरका थिए ।

इन्स्टिच्युटका अनुसार औसत तापक्रम २० डिग्री सेल्सियस भन्दा माथि पुग्ने हप्ताहरूमा मृत्युदरमा उल्लेखनीय वृद्धि हुने गर्छ । यसको विश्लेषण जर्मन मौसम सेवाद्वारा सञ्चालित ५२ वटा मौसम मापन केन्द्रहरूबाट प्राप्त तथ्याङ्कमा आधारित छ ।

वैज्ञानिकहरूका अनुसार मानवीय गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनले ‘हिटवेभ’लाई बारम्बार हुने, लामो समयसम्म चल्ने र अझ तीव्र बनाइरहेको छ, जसले गर्दा गर्मी सम्बन्धित बिमारी र मृत्युको जोखिम बढिरहेको छ ।