मुम्बई । बलिउडकी चर्चित अभिनेत्री कियारा आडवाणीले हालै आफ्नो जन्मदिन मनाइन् ।
खासमा उनी उनको आगामी चलचित्र ‘टक्सिक’लाई लिएर चर्चामा पनि रहेकी छिन् ।
चलचित्रमा उनको भूमिकालाई लिएर प्रशंसकहरू उत्साहित पनि रहेका छन् तर केही दर्शकहरूलाई भने यसको प्रचारप्रसार सामग्रीमा मुख्यतया रकिङ स्टार यशलाई मात्र प्राथमिकता दिइएको र महिला पात्रहरूलाई भने पर्याप्त महत्त्व नदिइएको महसुस गरेका छन् ।
यसै सन्दर्भमा, चलचित्रका निर्माताहरूले कियाराको जन्मदिनको विशेष अवसर पारेर उनीसहितको नयाँ पोस्टर सार्वजनिक गरेका थिए । साथै, कियाराले आफ्नो भूमिका र चलचित्रमा महिला पात्रहरूको महत्त्वबारे आफ्ना विचारहरू खुलेर व्यक्त गरेकी छिन् । कियारा यस चलचित्रमा ‘नादिया’को भूमिकामा देखिने छिन् । दर्शकहरूले उनको नयाँ पोस्टर निकै मन पराएका छन् ।
एक अन्तर्वार्तामा कियाराले बताइन् कि जब उनलाई चलचित्रको कथा सुनाइयो, तब उनी निकै प्रभावित भएकी थिइन् ।
उनका अनुसार ‘नादिया’को पात्रलाई निकै गहिराइपूर्वक लेखिएको छ र यसमा भावनाहरूको विविधता पाइन्छ, कोमलता, दृढता र एक्लोपनको अनुभूति यस भूमिकाका अभिन्न पक्षहरू हुन् ।
उनले अगाडि भनिन् कि उनी सधैं यस्तै पात्रको खोजीमा थिइन्, जुन वास्तवमै चुनौतीपूर्ण होस् । कथा सुनिसकेपछि यस्तो चुनौतीपूर्ण र प्रभावशाली भूमिका निर्वाह गर्न आफू पूर्ण रूपमा तयार रहेको उनले महसुस गरिन् ।
कियाराले थप बताइन् कि कुनै भूमिका स्वीकार गरेपछि उनी सुरुमा उक्त पात्रको व्यक्तित्व, मानसिकता, सम्बन्ध र जीवनका लक्ष्यहरू बुझ्ने प्रयास गर्छिन् । त्यसपछि उनी पात्रको हाउभाउ अर्थात बडी ल्याङ्ग्वेज, पहिरन र पर्दामा देखिने प्रस्तुतिमा काम गर्छिन् । उनले यो पनि उल्लेख गरिन् कि दर्शकहरूले अन्तिम प्रस्तुति मात्र देख्ने भए तापनि कलाकारको वास्तविक तयारी भने छायाङ्कन सुरु हुनु धेरै अघि नै सुरु भइसकेको हुन्छ ।
कियाराले बताइन् कि ‘नादिया’को भूमिका निर्वाह गरेपछि उनले फेरि एकपटक महसुस गरिन् कि उनी अभिनयप्रति किन यति धेरै उत्साहित छिन् किनभने हरेक नयाँ भूमिकाले उनलाई आफूलाई अझ राम्रोसँग बुझ्ने र केही नयाँ कुरा सिक्ने अवसर प्रदान गरिरहेको छ ।
चलचित्रका अन्य महिला पात्रहरूबारे कुरा गर्दै कियाराले बताइन् कि प्रत्येक अभिनेत्रीको भूमिकाको आफ्नै छुट्टै पहिचान र विशिष्ट विशेषताहरू छन् । उनलाई विश्वास छ कि दर्शकहरूले ती सबै महिला पात्रहरूलाई निकै मन पराउने छन् ।
उनले सुटिङ सेटको वातावरण पनि निकै सकारात्मक रहेको उल्लेख गरिन् । त्यहाँ कलाकारहरूले एक अर्कालाई प्रेरित गरिरहेका थिए र सँगै नयाँ कुराहरू सिक्ने अवसर पाएका थिए ।
उनले ‘टक्सिक’मा दिएको ‘बोल्ड सिन’का बारेमा पनि मुख खोलेकी छिन् ।
‘यो कथाको माग थियो, यस सिनले फिल्मलाई झन उत्कृष्ट बनाएको छ, यो सिन कथा अनुसार जरूरी थियो ।’ उनले सो सिन दिदाँ कुनै आपत्ति नभएको पनि जनाएकी छिन् ।













प्रतिक्रिया