२८ आश्विन २०८३, बुधबार

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपिजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो ।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार १२ अर्ब १८ करोड सात लाख ६४ हजार रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ भने डिजेल नौ अर्ब ५५ करोड ४९ लाख सात हजार रुपैयाँ र एलपिजी दुई अर्ब ७७ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा पेट्रोल आठ अर्ब ९२ करोड ८५ लाख २६ हजार रुपैयाँ र डिजेल सात अर्ब तीन करोड ३२ लाख १९ हजार रुपैयाँ बराबरको आयात भएको थियो।

कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थ आयात गरी गत आवमा पेट्रोलबाट पाँच अर्ब ८५ करोड ३७ लाख ५० हजार रुपैयाँ र डिजेलबाट दुई अर्ब ९३ करोड २२ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।