बाँके, २ असार । बाँके जिल्लाको राप्ती नदी आसपासका गाविसहरू औलो रोगको उच्च जोखिममा रहेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार राप्ती नदी आसपास राप्तीपारिका आठ र खोला, जङ्गल छेउका दुई गाविस औलो उच्च जोखिममा रहेका हुन् ।
नदीमा पानी बग्ने, पानी जम्ने, आसपासमा फोहोर, बाक्लो बस्तीका कारण लामखुट्टे बढेर यसको टोकाइबाट औलो, डेङ्गुलगायतका रोगको जोखिम हुने गरेको हो ।
जिल्लाको राप्तीपारिका फत्तेपुर, बिनौना, कटकुइया, नरैनापुर, लक्ष्मणपुर, कालाफाँटा, बैजापुर र बाक्लो जङ्गल, खोलानाला रहेका महादेवपुरी र कोहलपुर गाविस औलोको उच्च जोखिममा रहेको जनस्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ ।
नदी, खोलानाला र जङ्गल क्षेत्रमा खुल्ला दिसा, फोहर पानीको प्रयोग, पानी जम्ने कारण औलोको समस्या हुने गर्छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख जीवनकुमार मल्लका अनुसार नदी, खोलानाला, जङ्गल क्षेत्रका गाविसमा लामखुट्टेको बासस्थान रहने, टोकाइ पनि धेरै हुँदा बिरामी बढी भेटिने गरेका छन् ।
सो कार्यालयले बर्सेनि जोखिम १० गाविसमा दुई व्यक्ति बराबर एक सुपानेट झूल, गर्भवती महिलालाई अनिवार्य झूल र विषादी स्प्रे गर्दै आएको छ । झूलभित्र सुत्नु नै औलोबाट बच्ने उपाय हो । अति गर्मी र सीमावर्ती जिल्ला भएकाले जिल्लामा औलो रोगको जोखिम सधैँ देखिने गरेको छ ।
सरकारले ६० वर्षअघि नै उन्मूलनको घोषणा गरे पनि बाँके जिल्ला औलोको उच्च जोखिममा रहेको छ । होलिया–५ टेपरीकी शान्तिदेवी तिवारीले बर्सेनि बाढी पस्ने, पानी जम्ने, बाक्लो बस्ती, घरवरिपरि पानी जम्ने इनार, हातेपम्प, फोहरमैला र खुल्ला दिसाका कारण लामखुट्टेको टोकाइ बढेको बताए ।
जनस्वास्थ्य कार्यालयका अनुगमन तथा मूल्याङ्कन अधिकृत प्रवीण पौडेलका अनुसार उच्च जोखिममा १० गाविसमध्ये जोखिममा चार गाविस, न्यून जोखिममा १३ गाविस र जोखिममा नरहेका १९ गाविस रहेका छन् । औलो रोग लागेमा काम ज्वरो आउने, टाउको दुख्ने, बान्ता, रक्तअल्पता हुनेलगायतका लक्षण देखिने गर्छ ।













प्रतिक्रिया