२८ आश्विन २०८३, बुधबार

नेपालसहित ५० देशका नागरिकका लागि अमेरिकाको ‘भिसा बन्ड’ स्थायी, २० हजार डलरसम्म धरौटी अनिवार्य

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकाले बि–१ र बि–२ (व्यवसाय तथा भिजिट) भिसाका लागि लागू गरेको भिसा बन्ड कार्यक्रमलाई स्थायी बनाउने निर्णय गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार अगस्ट ३ देखि लागू हुने व्यवस्थाअनुसार नेपालसहित ५० देशका आवेदकले अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ ।

समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले सन् २०२५ मा परीक्षणका रूपमा सुरु गरेको यो कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै स्थायी बनाएको हो ।

परीक्षण अवधिमा ५ हजार, १० हजार वा १५ हजार डलरसम्म बन्ड माग्न सकिने व्यवस्था थियो । तर अब ५ हजार डलरको विकल्प हटाइएको छ भने अधिकतम सीमा २० हजार डलर पुर्‍याइएको छ ।

अमेरिकी अधिकारीहरूले यो नीति भिसाको अवधि सकिएपछि पनि अवैध रूपमा बस्ने (ओभरस्टे)को संख्या घटाउने उद्देश्यले ल्याइएको बताएका छन् । तर आप्रवासन अधिकारका पक्षधरहरूले यसले वैध उद्देश्यले अमेरिका जान चाहने धेरै व्यक्तिमाथि आर्थिक बोझ थप्ने बताएका छन् ।

यी ५० देशका नागरिकमा लागू हुनेछ भिसा बन्ड

भिसा बन्ड नेपालसहित अल्जेरिया, अङ्गोला, एन्टिगुवा र बारबुडा, बङ्गलादेश, बेनिन, भुटान, बोत्स्वाना, बुरुन्डी, काबो भेर्दे, कम्बोडिया, मध्य अफ्रिकी गणतन्त्र, कोट डिभोआर, क्युबा, जिबूटी, डोमिनिका, इथियोपिया, फिजी, ग्याबोन, गाम्बिया, जोर्जिया, ग्रेनाडा, गिनी, गिनी–बिसाउ, किर्गिज गणतन्त्र, लेसोथो, मलावी, मोरिटानिया, मोरिसस, मङ्गोलिया, मोजाम्बिक, नामिबिया, निकारागुवा, नाइजेरिया, पापुआ न्यू गिनी, साओ टोमे र प्रिन्सिपे, सेनेगल, सेशेल्स, ताजिकिस्तान, तान्जानिया, टोगो, टोङ्गा, ट्युनिसिया, तुर्कमेनिस्तान, तुभालु, युगान्डा, भानुआटु, भेनेजुएला, जाम्बिया र जिम्बाब्वेका नागरिकमा लागू हुनेछ ।