काठमाडौं । मेरिल्याण्ड निवासी गौतम दाहालले नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
समितिको तेस्रो केन्द्रीय अधिवेशन आगामी अगस्ट १४–१६ मा भर्जिनियामा हुँदैछ ।
अधिवेशन तयारी समितिका सदस्य सचिव रहेका दाहालले उम्मेदवारीसँगै आफ्नो नेतृत्वको प्राथमिकता र कार्ययोजना सार्वजनिक गरेका हुन् ।
दाहालले संगठनलाई थप सुदृढ बनाउने, नेपाल–अमेरिका नागरिकस्तरको सम्बन्ध विस्तार गर्ने, दोस्रो पुस्ताको सहभागिता बढाउने तथा आर्थिक अनुशासन र पारदर्शितालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् । उनले संस्थामा कुनै प्रश्न नउठ्ने गरी पारदर्शी ढंगले काम गर्ने बताए ।
‘आर्थिक अनुशासन र पारदर्शीतालाई म पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु।’ उनले भने, ‘म मेरो कार्यकालमा कुनै प्रश्न नउठ्ने गरी काम गर्नेछु, मेरा हातहरु सफा छन् र सफा नै राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
उनको एजेन्डामा प्रविधिमैत्री कार्यक्रम सञ्चालन, अनुभवी व्यक्तित्वहरूको सहभागितामा ‘थिंक ट्यांक’ गठन, संस्थागत सुशासन, विधानसम्मत कार्ययोजना र पारदर्शी आर्थिक व्यवस्थापनमार्फत संगठनलाई प्रभावकारी बनाउने योजना समेटिएको छ ।
यस्तै, नेपाली मूलका अमेरिकी निर्वाचित प्रतिनिधिहरूसँग सहकार्य गर्दै नेपालको हितमा वकालत गर्ने, संघीय संसदमा नेपाल ककस पुनः सक्रिय बनाउन पहल गर्ने, अमेरिकामा रहेको नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको अर्धकदको शालिक सार्वजनिक स्थानमा स्थापना गर्ने तथा विभिन्न राज्यमा नेपालको नाममा सडक वा गल्ली नामकरणका लागि पहल गर्ने एजेन्डा पनि उनले अघि सारेका छन् ।
ओखलढुंगामा जन्मिएका दाहाल विद्यार्थी जीवनदेखि नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीतिमा संलग्न छन् । उनी नेविसंघ ओखलढुंगा जिल्ला सदस्य, ओखलढुंगा–काठमाडौं सम्पर्क समितिका सभापति तथा तत्कालीन अर्थ राज्यमन्त्री गोपाल राईका प्रेस सल्लाहकार भइसकेका छन् ।
विगत २१ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका दाहाल सन् २००७ देखि नेपाली जनसम्पर्क समिति अमेरिकाको विभिन्न जिम्मेवारीमा सक्रिय छन् । उनी कांग्रेसको महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि पनि हुन् ।
पत्रकारितामा पनि सक्रिय दाहालले नेपालमा रेडियो नेपाल, इमेज टेलिभिजन, नेपाल–१ टेलिभिजन, हिमालय टाइम्स लगायत विभिन्न सञ्चारमाध्यममा काम गरेका छन् ।
दाहाल ग्लोब नेपाल डटकमका संस्थापक सम्पादक तथा ग्लोब नेपाल मिडिया हाउसका अध्यक्ष हुन् ।
अमेरिकामा नेपाल–अमेरिका पत्रकार संघको अध्यक्ष तथा बाल्टिमोरस्थित नेपाली संस्था बानाका महासचिवको जिम्मेवारी पनि उनले सम्हालिसकेका छन् ।











प्रतिक्रिया