२८ आश्विन २०८३, बुधबार

ट्रम्पका ज्वाइँलाई लगानीकर्ता बनाएको भन्दै फिफा सल्लाहकारले दिए राजीनामा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरोले फुटबलको सर्वोच्च निकायले आफ्ना विश्वकप र विभिन्न प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने प्रस्ताव ल्याएको भन्दै राजीनामा दिएका छन् ।

कोर्डेइरोले शुक्रबार घोषणा गरे कि उनी ‘फिफा फरवार्ड इन्टरप्राइज’ नामक नयाँ गठन गरिएको उद्यममा निजी लगानी भित्र्याउने प्रस्तावको विरोध गर्दै तत्काल लागू हुनेगरी आफ्नो पदबाट बाहिरिएका हुन् । उनले उक्त योजनालाई ‘फुटबलका लागि नराम्रो सम्झौता’ भनेका छन् ।

फिफाको योजनाअनुसार ‘एफएफई’ले विश्वकप र अन्य प्रतियोगिताहरू सञ्चालन गर्न २० अर्ब डलरको सहायक कम्पनी खडा गर्नेछ र यसमा बाह्य लगानीकर्तालाई २० प्रतिशतसम्मको हिस्सेदारी दिइनेछ । यसका लागि आवश्यक लगानी अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ जोशुआ कुशनरले उपलब्ध गराउने छन् ।

‘म स्पष्ट पार्न चाहन्छु, यो प्रस्तावमा मेरो कुनै संलग्नता थिएन र म यसको दृढतापूर्वक विरोध गर्दछु,’ कोर्डेइरोले एक विज्ञप्तिमा भने, ‘यो फिफाका सदस्य संघहरूका लागि, फुटबलका लागि र खेलको दीर्घकालीन भविष्यका लागि एउटा नराम्रो सम्झौता हो ।’

कोर्डेइरोले अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने सन् २०२६ को विश्वकपका लागि ह्वाइट हाउसको कार्यदलमा फुटबलको विश्वव्यापी प्रशासकीय निकायको प्रतिनिधित्व गरेका थिए ।

पूर्व बैंकर तथा युएस सकर फेडेरेसनका पूर्व उपाध्यक्ष कोर्डेइरोलाई फिफाका लागि विश्व फुटबलको विकासमा सघाउन विशेष रूपमा चयन गरिएको थियो ।

आफ्नो विज्ञप्तिमा कोर्डेइरोले प्रश्न उठाएका छन् कि अर्बौं डलरको सञ्चिति भएको र कुनै ऋण नभएको अवस्थामा फिफाले आफ्नो ‘सबैभन्दा मूल्यवान सम्पत्ति’को केही हिस्सा बेचेर ४.२ अर्ब डलर जुटाउनेबारे किन विचार गरिरहेको छ ?

उनको राजीनामा यस्तो समयमा आएको छ, जब फिफाका २११ सदस्य संघहरूमाथि १९ सेप्टेम्बरसम्म उक्त विवादास्पद प्रस्तावबारे निर्णय लिनुपर्ने दबाब छ । साथै, इन्फान्टिनोले यदि उनीहरूले यसलाई स्वीकार गरेनन् भने ‘जोखिम हुने’ बताएको बेला यो राजीनामा आएको हो ।