२८ आश्विन २०८३, बुधबार

हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । छिमेकी मुलुक मोरक्कोबाट हजारौं आप्रवासीहरूले उत्तर अफ्रिकामा अवस्थित स्पेनको भू–भाग ‘सिउटा’ सीमा पार गरेका छन् ।

सिउटा सरकारले बिहीबार जनाएअनुसार पछिल्लो १० दिनको अवधिमा १,५०० देखि २,००० जना मानिसहरू त्यहाँ प्रवेश गरेका छन् । गत बिहीबार पनि थप सयौं मानिसहरू आइपुगेको अनुमान गरिएको छ । जसका कारण क्षेत्रीय अध्यक्ष जेसस भिभासले ‘पूर्ण मानवीय तथा सामाजिक संकटकाल’ घोषणा गरेका छन् र सीमामा पुनः नियन्त्रण कायम गर्न सेना पठाउन स्पेनको केन्द्रीय सरकारसँग आग्रह गरेका छन् । तर, स्पेनको गृह मन्त्रालयले आप्रवासी संकटको अवस्थामा राष्ट्रिय आपतकाल घोषणा गर्नुपर्ने मागलाई अस्वीकार गरेको छ ।

मन्त्रालयले यस्तो उपायले आप्रवासन संकटलाई नसमेट्ने बताए पनि थप स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता भने जनाएको छ । यसपछि गृह मन्त्रालयले सीमा क्षेत्रको सुरक्षा सुदृढ गर्न सेनाका ६० जना जवानहरू खटाइने घोषणा गरेको छ ।

भिडियो फुटेजमा केही आप्रवासीहरू स्पेनको भू–भागमा प्रवेश गर्दा ‘भिभा एस्पाना’ अर्थात ‘स्पेन जिन्दावाद’ भन्दै नारा लगाइरहेको देखिन्थ्यो । उनीहरूमध्ये धेरैजसो मोरोक्कोतर्फबाट हावा भरिने साना डुङ्गा वा साधनहरूको प्रयोग गरी जलमार्ग हुँदै आएका थिए । सो क्रममा मानिसहरूको समूह समुद्री छाल छेक्ने संरचना अर्थात ब्रेकवाटर हुँदै स्थानीय सडकहरूमा हिँडिरहेको देखिएको थियो ।

स्पेनको सरकारी समाचार संस्थाले जनाएअनुसार अन्य मानिसहरू भने तारबार नाघेर स्थलमार्ग हुँदै सीमा पार गरेका थिए ।

आप्रवासी अधिकारकर्मी जकारिया जारोकीका अनुसार आप्रवासीहरूको संख्यामा देखिएको यो वृद्धि मे २०२१ को घटनासँग मिल्दोजुल्दो छ । त्यतिबेला केही दिन भित्रै करिब १०,००० मोरोक्कन र उप सहारा क्षेत्रका युवाहरू उक्त स्पेनिस भू–भागमा प्रवेश गरेका थिए ।

‘अहिले पनि अवस्था नियन्त्रणबाहिर छ,’ जारोकीले भने । उनले सीमा पार गर्ने प्रयासमा मानिसहरू अझै पनि मोरोक्कोको फिनिदेक सहरमा भेला भइरहेको जानकारी दिए ।