२९ आश्विन २०८३, बिहिबार

सुपर मादी हाइड्रोपावरको नाफा २७८ प्रतिशतले बढ्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि गरेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्नु र वित्तीय खर्च घट्नु कम्पनीको नाफा सुधारको मुख्य आधार बनेको हो ।

सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ११ करोड २७ लाख रुपैयाँ रहेको थियो । यसरी कम्पनीको खुद नाफा वार्षिक आधारमा २७७.६८ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी १ अर्ब १२ करोड ६२ लाख रुपैयाँबाट बढेर १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ पुगेको छ । यता वित्तीय खर्च ५४ करोड ३६ लाख रुपैयाँबाट घटेर ४६ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ, जसले नाफामा सकारात्मक प्रभाव पारेको कम्पनीको वित्तीय विवरणले देखाएको छ ।

यद्यपि ह्रासकट्टी खर्च ३० करोड ६७ लाख रुपैयाँबाट ३१ करोड ७९ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च ७ करोड २८ लाख रुपैयाँबाट ८ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १४ करोड १४ लाख रुपैयाँबाट बढेर ४५ करोड १४ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म प्रतिसेयर आम्दानी (ईपीएस) १८.४० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११९.५० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति ४१५.२२ रुपैयाँ तथा तरलता अनुपात २.०८ प्रतिशत कायम भएको छ ।