काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाललाई साम्राज्यवादी शक्तिहरूले जनतालाई प्रभावमा पार्ने ‘अफिम’को रूपमा प्रयोग गरिरहेको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले चीनमा भएको अफिम युद्धको प्रसंग उल्लेख गर्दै अहिले नेपालमा पनि सामाजिक सञ्जालमार्फत जनतालाई प्रभावित पार्ने प्रयास भएको बताए ।
प्रचण्डले चीनमा साम्राज्यवादीहरूले प्राकृतिक स्रोतसाधनमाथि नियन्त्रण जमाउनुअघि जनतालाई अफिमको लत बसालिएको इतिहास स्मरण गराए । उनका अनुसार साम्राज्यवादीहरूले चीनमा जनतालाई अफिम खुवाएर लठ्ठ पारेर राष्ट्रिय स्वाधीनता, क्रान्ति, परिवर्तनका विषय कमजोर बनाएर त्यहाँको स्रोतसाधनमाथि कब्जा जमाएका थिए ।
अहिले नेपालमा पनि त्यही शैली दोहोरिएको बताउँदै प्रचण्डले सामाजिक सञ्जालमार्फत हुने ‘एल्गोरिदम म्यानिपुलेसन’लाई अफिमसँग तुलना गरे ।
‘यो पटक नेपाली जनतालाई पनि अफिम खुवाएछन् । मैले जनताको अपमान गर्न खोजेको होइन, कस्तो सोसियल मिडियाबाट एल्गोरिदम म्यानिपुलेसन जो भन्ने गर्छौं त्यो अफिमै हो । लठ्ठ पारिदिए सबैलाई,’ उनले भने ।
उनले सामाजिक सञ्जालको बढ्दो प्रभावबारे सचेत रहनुपर्ने आवश्यकता औंल्याउँदै यसले जनमत र सामाजिक चेतनामाथि गहिरो असर पार्ने चेतावनी दिए ।







प्रतिक्रिया