१२ श्रावण २०८३, मंगलबार

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको छ ।

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत पहिलोपटक नियमित कार्गो रेल सेवा सुरु भएसँगै पूर्वी नेपालका उद्योगी–व्यवसायीले ढुवानी समय र लागत दुवै घट्ने अपेक्षा गरेका छन् ।

गत शुक्रबार कोलकाता बन्दरगाहबाट छुटेको औद्योगिक कच्चा पदार्थ बोकेको कार्गो रेल सोमबार दिउँसो विराटनगरस्थित भन्सार यार्डमा आइपुगेको हो । पहिलो खेपमा मोरङ–सुनसरी औद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ल्याइएको छ । यसअघि तेस्रो मुलुकबाट आउने सामान भारतको बथनाहासम्म रेल र त्यसपछि सडकमार्फत नेपाल ल्याउनुपर्ने बाध्यता थियो । अब भने रेल नै सिधै विराटनगरको भन्सार यार्डसम्म आइपुग्न थालेपछि ढुवानी प्रक्रिया थप सहज बनेको छ ।

कार्गो रेल सेवाको औपचारिक शुभारम्भ कोलकातामा आयोजित विशेष समारोहमा गरिएको थियो । कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, भारतीय भन्सारका उच्च अधिकारी, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम (कोनकोर)का प्रतिनिधिले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेललाई विराटनगरका लागि बिदाइ गरेका थिए ।

सोमबार विराटनगर भन्सार यार्डमा रेल आइपुग्दा भन्सार कर्मचारी, उद्योगी तथा व्यवसायीले स्वागत गरेका थिए । उद्योगीहरूले नियमित रेल सेवा सञ्चालनसँगै आयात लागत घट्ने, सामान छिटो आइपुग्ने र उद्योग सञ्चालनमा सहजता आउने विश्वास व्यक्त गरेका छन् ।

विराटनगरको एकीकृत जाँच चौकीसम्म कार्गो रेल ल्याउने लक्ष्यसहित २०८० साल जेठमा परीक्षणका रूपमा रेल सञ्चालन गरिएको थियो । तर नीतिगत जटिलता र प्रक्रियागत समन्वयको अभावका कारण सेवा नियमित हुन सकेको थिएन ।

पछिल्लो समय नेपाल र भारतका सम्बन्धित निकायबीच आवश्यक नीतिगत सहमति भएपछि कोलकाता–विराटनगर रेल ढुवानी सेवा नियमित गर्ने बाटो खुलेको हो । यसलाई पूर्वी नेपालको औद्योगिक क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।