काठमाडौं । यमनका इरान समर्थित हुथीहरूले साउदी अरबमाथि नौसेना नाकाबन्दी लगाएको जनाएका छन् ।
हुथीहरूले सामुन्द्रिक नाकाबन्दी गर्ने यो कदमले इरानविरुद्धको युद्धमा अमेरिकाविरुद्ध नयाँ मोर्चा खोलेको देखिएको छ । र, खाडीभन्दा बाहिरको विश्वव्यापी ऊर्जा आपूर्ति र व्यापारको खतरा थप बढ्ने भएको छ ।
तेहरान र वासिङ्टनले गत महिना हस्ताक्षर गरिएको कमजोर अन्तरिम सम्झौतालाई लगभग ध्वस्त पार्ने आक्रमणको बढ्दो चक्रलाई रोक्न कूटनीति पुनः सुरु गर्न चाहिरहेका छन् भनिरहेको बेला हुथीहरूले यो घोषणा गरेका हुन् ।
हुथी विद्रोहीहरूको भनाइ सार्वजनिक भएलगत्तै तेलको मूल्यमा केही समयका लागि वृद्धि भए पनि पछि व्यापारीहरूले युद्धको समाधानका लागि कूटनीतिक निकास निस्कने आशा राखेकाले मूल्य पुनः घटेको छ । अमेरिकाले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण जारी राखेपछि लाल सागरप्रवेश गर्ने ‘बाब अल मान्देब’ जलमार्ग बन्द गर्न इरानले हुथीहरूलाई दबाब दिँदै आएको थियो ।
‘बाब अल मान्देब’ जलमार्ग पूर्ण रूपमा बन्द हुँदा साउदी अरबको अधिकांश तेल निर्यात सो क्षेत्रबाट बाहिरिन नसक्ने भएकाले विश्वव्यापी तेल आपूर्तिमा ७ प्रतिशतले कमी आउनेछ । यस अवरोधले खाडी क्षेत्रको युद्धका कारण विश्वव्यापी तेल प्रवाहमा भइरहेको भारी कटौतीलाई अझ बढाउनेछ । उक्त युद्धका कारण विश्वव्यापी आपूर्तिको १० प्रतिशत हिस्सा बराबरको ढुवानीमा पहिले नै कमी आइसकेको छ ।
आफ्नो विज्ञप्तिमा हुथी विद्रोहीहरूको सशस्त्र सेनाले भनेका छन् कि उनीहरूले साउदीले यमनमा लगाएको ‘अन्यायपूर्ण र दमनकारी घेराबन्दी’को प्रतिक्रियामा ‘आँखाको बदला आँखा’को समीकरणमा आधारित साउदी शत्रुविरुद्ध समुद्री प्रतिबन्ध तुरुन्तै लागू हुने घोषणा गरेका हुन् । तर, साउदी अरबबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
एक वरिष्ठ इरानी अधिकारीका अनुसार तेहरानले अन्तरिम सम्झौतालाई बचाउनको लागि मध्यस्थकर्ताहरूबाट १० दिने युद्धविरामको प्रस्ताव प्राप्त गरेको छ, जसको उद्देश्य फेब्रुअरी २८ मा इरानमा अमेरिकी इजरायली आक्रमणहरूसँगै सुरु भएको युद्ध अन्त्य गर्न स्थायी सम्झौताको मार्ग प्रशस्त गर्नु हो ।











प्रतिक्रिया