काठमाडौं, २ असार । प्रधानमन्त्री सुशील कोइराला मन्त्रिपरिषद्द्वारा मनोनीत गर्नुपर्ने २६ सभासद्बारे कुनै निर्णय नगरी स्वास्थ्योपचारका लागि सोमबार अमेरिका जाने भएका छन्।
कोइराला उपचारका लागि कति समय अमेरिकामा बस्छन् भन्ने सरकारले खुलाएको छैन। एक वरिष्ठ मन्त्रीका अनुसार दुई सातामा उनको उपचार पूरा हुन सक्छ।
प्रधानमन्त्रीले अमेरिका जाने अघिल्लो दिन आइतबार साँझ २६ सभासद् मनोनयनबारे छलफल गर्न डाकेको तीन दलीय बैठकमा एमालेका प्रतिनिधि नभएका कारण निर्णय हुन सकेन। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले बैठकमा सत्ता साझेदार एमालेका नेता उपस्थित नभएको बताए।
एमाले प्रतिनिधि बैठकमा नआएपछि प्रधानमन्त्रीले यसबारे बुझ्न लगाएका थिए। फोन सम्पर्कमा आएका एमाले नेताले गृहकार्य नपुगेका कारण आउन नसक्ने जबाफ दिएपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो।
मन्त्रिपरिषद् स्रोतका अनुसार प्रधानमन्त्रीले भने एमाले नेतालाई ‘मलाई सुस्त भन्नुहुन्छ तर तपाईंहरू बैठकमा नआएर धोका दिनुहुन्छ, यो के हो’ भन्दै आक्रोश पोखेका थिए। अन्नपूर्ण पोष्ट दैनिकबाट













प्रतिक्रिया