११ श्रावण २०८३, सोमबार

सेयर बजार ओरालो लाग्ने क्रम नरोकिएपछि लगानीकर्तालाई अर्थमन्त्रीको सचिवालयले भन्यो– नआत्तिनुहोस्

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नयाँ सरकार गठनपछि लगातार ओरालो लागिरहेको सेयर बजारले लगानीकर्ताको करोडौं लगानी गुम्ने खतरा बढिरहेको बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले लगानीकर्तालाई नआत्तिन आग्रह गरेको छ ।

पछिल्लो दिनहरुमा लगानीकर्ताको असन्तुष्टि र आक्रोश स्वाभाविक भएको भन्दै सचिवालयले लगानीकर्तालाई नआत्तिन आग्रह गरेको हो ।

सरकार गठनपछि बजारमा सुधारको अपेक्षा गरिएको भए पनि त्यसको उल्टो नेप्से परिसूचक घट्दै जाँदा लगानीकर्ताको आक्रोश चुलिएको छ ।

अर्थमन्त्री वाग्लेको सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै अर्थतन्त्रका केही सूचक सकारात्मक रहेको, बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको र ब्याजदर घटेको दाबी गरेको छ । साथै, सचिवालयले सरकारले लगानी र पुँजी बजार सुधारका लागि योजनाबद्ध काम गरिरहेको पनि उल्लेख गरेको छ ।

सचिवालयले अनधिकृत माध्यमबाट फैलिने हल्लामा विश्वास नगर्न आग्रह गर्दै आधिकारिक सूचना सम्बन्धित सरकारी निकायबाट मात्र लिन अनुरोध पनि गरेको छ ।

तर लगानीकर्ताहरू भने सरकारका दाबी र बजारको वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको बताइरहेका छन् । विश्लेषकहरूका अनुसार नीतिगत स्पष्टता, ठोस निर्णय र लगानीमैत्री वातावरणको अनुभूति नहुँदासम्म बजारमा उत्साह फर्काउन कठिन हुनेछ ।