८ श्रावण २०८३, शुक्रबार

केएमसीमा नेपालमै पहिलोपटक मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार उपचार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले ६७ वर्षीय पुरुषको मस्तिष्कको रक्तनली फुटेको जटिल रक्तनलीसम्बन्धी रोग ब्रेन एभीएमको चिरफार नगरी न्यूरोइन्टरभेन्सन प्रविधिबाट सफल उपचार  गरेको छ ।

चिकित्सकहरूका अनुसार ६७ वर्षको उमेरमा फुटेको एभीएमको यस प्रकारको सफल उपचार भएको नेपालमै पहिलो घटना हो ।

६७ वर्षका हरिप्रसाद कँडेल पहिलेदेखि नै दीर्घकालीन कलेजो रोगबाट पीडित थिए । एक दिन शौचालय जाने क्रममा उनी अचानक बेहोस भएपछि परिवारले तत्काल काठमाडौं मेडिकल कलेजको आकस्मिक कक्षमा पुर्‍याएको थियो ।

करिब तीन घण्टादेखि अचेत रहेका उनको तत्काल सीटी स्क्यान गर्दा मस्तिष्कको असामान्य स्थानमा ठूलो रक्तस्राव (हेमाटोमा) देखियो । रक्तस्रावको स्थान सामान्य नभएकाले त्यसको वास्तविक कारण पहिचान गर्न थप परीक्षण गरियो । त्यसपछि काठमाडौं मेडिकल कलेजको अत्याधुनिक बाइप्लेन क्याथल्याबमा न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा डीएसए एन्जियोग्राफी गरियो ।

परीक्षणका क्रममा मस्तिष्कमा रगत पुर्‍याउने धमनी र रगत फर्काउने शिराबीच जन्मजात असामान्य रूपमा बनेको रक्तनलीको जालो अर्थात् ब्रेन एभीएम फुटेर रक्तस्राव भएको पुष्टि भयो । उपचार प्रक्रियामा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेलको टोली पनि संलग्न थियो ।

चिकित्सकहरूका अनुसार एभीएम जन्मजात हुने रक्तनलीसम्बन्धी दुर्लभ विकृति हो । सामान्यतया यस्तो समस्या युवावस्थामै देखिने वा फुट्ने गर्छ। तर ६७ वर्षको उमेरमा एभीएम फुट्नु दुर्लभ र उच्च जोखिमपूर्ण अवस्था मानिन्छ ।

रोगको पुष्टि भएपछि चिकित्सकहरूले टाउको नखोली तिघ्राको रक्तनलीबाट अत्यन्त सानो क्याथेटर मस्तिष्कसम्म पुर्‍याएर न्युरोइन्टरभेन्सन (एन्डोभास्कुलर) प्रविधि तथा आवश्यक स्टेन्ट र बेलुन प्रविधि प्रयोग गरी एभीएमको सफल उपचार गरेका थिए ।

लामो र जटिल उपचारपछि रक्तस्राव नियन्त्रण गर्दै एभीएमलाई सुरक्षित रूपमा बन्द गर्न चिकित्सक टोली सफल भएको अस्पतालले जनाएको छ ।

उपचारपछि हरिप्रसादको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको, केही दिनमै होसमा फर्किएको र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टरले बताएका छन् ।

हरिप्रसादकी पत्नी सुजाता कँडेलले उपचारको सफलतालाई शब्दमा व्यक्त गर्न नसकिने खुसीको क्षण भएको बताइन् । स्वयं हरिप्रसादले पनि आफूलाई सहज र सफल उपचार प्रदान गरेको भन्दै उपचारमा संलग्न चिकित्सक टोलीप्रति आभार व्यक्त गरेका छन् ।

डा. पौडेलका अनुसार मस्तिष्कमा असामान्य स्थानमा रक्तस्राव देखिएमा त्यसलाई सामान्य स्ट्रोक वा रक्तस्राव ठानेर मात्र उपचार गर्नु उपयुक्त हुँदैन । यस्ता अवस्थामा एभीएम, एन्युरिज्म वा अन्य रक्तनलीसम्बन्धी विकृतिको सम्भावना खोज्न डीएसए एन्जियोग्राफी सहितको न्युरोइन्टरभेन्सन मूल्याङ्कन आवश्यक हुन्छ ।

समयमै सही पहिचान र उपचार गर्न सके यस्ता धेरै बिरामीको ज्यान बचाउन सकिने उनले बताए । उनका अनुसार ६७ वर्षको उमेरमा फुटेको ब्रेन एभीएमको न्युरोइन्टरभेन्सनमार्फत सफल उपचार भएको यो घटना काठमाडौं मेडिकल कलेजका लागि मात्र नभई नेपालकै चिकित्सा इतिहासमा पहिलो उपलब्धि हो ।

काठमाडौं मेडिकल कलेज नेपाली कांग्रेसका नेता डा. सुनील शर्माद्वारा सञ्चालित अस्पताल हो ।

Skip This