२८ आश्विन २०८३, बुधबार

बैंककको नाइट क्लबमा भीषण आगलागी, २७ जनाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोमबार बिहान सबेरै थाइल्यान्डको राजधानी बैंककस्थित एक नाइट क्लबमा भीषण आगलागी हुँदा २७ जनाको ज्यान गएको छ भने ६३ जना घाइते भएका छन् ।

समाचार संस्था एपीका अनुसार थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुल घटनास्थलमा पुगेका थिए ।

उनले घटनास्थलमा पत्रकारहरूलाई बताएअनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ र घाइते भएकाहरूलाई अस्पताल भर्ना गरिएको छ । उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए ।

उनका अनुसार पबमा रहेका एक म्युजिसियनले सुरुमा मञ्च नजिकैको सर्किट ब्रेकरबाट धुवाँ निस्किरहेको देखेका थिए । त्यसको केही क्षणमै बत्ती गयो, लगत्तै विस्फोटजस्तो आवाज आयो र पूरै हल कालो धुवाँले भरियो । अन्धकार यति बाक्लो थियो कि मानिसहरूले एकअर्कालाई देख्न समेत सकेनन् । बाहिर निस्कने प्रयास गर्दा भागदौड मच्चिएको थियो ।

घटनापछि ६३ जनालाई अस्पताल लगिएको छ । तीमध्ये २२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । कतिपय घाइतेहरु अचेत अवस्थामा फेला परेकाले प्रशासनलाई उनीहरूको पहिचान गर्न कठिनाइ भइरहेको छ ।

आगो नियन्त्रणमा लिन करिब ३० मिनेट लागेको थियो ।

सन् २०२२ मा थाइल्यान्डको पूर्वी भागमा रहेको एक म्युजिक पबमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २००९ को जनवरी १ मा बैंककको सान्टिका नाइट क्लबमा नयाँ वर्षको उत्सव मनाउने क्रममा लागेको आगोमा परी ६६ जनाको ज्यान गएको थियो र २०० भन्दा बढी घाइते भएका थिए । उक्त घटना भवनभित्र पड्काइएका आतिशबाजीका कारण भएको थियो ।

थाइल्यान्ड आफ्नो नाइट लाइफ (रात्रिकालीन मनोरञ्जन)का लागि प्रख्यात छ । विश्वभरबाट लाखौं पर्यटक हरेक वर्ष थाइल्यान्डको भ्रमण गर्छन् ।