काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले पछिल्ला दिनमा देशमा बढिरहेको आत्मदाहका प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नागरिकमा बढ्दो निराशा र आक्रोशको कारण सरकारले खोज्नुपर्ने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमा लेख्दै बस्नेतले राहदानी विभाग अगाडि मुगुका गणेश नेपालीको आत्मदाहपछि सर्लाहीको गोडैता नगरपालिकाका विवेक मण्डल र काठमाडौंको बुद्धनगरका अश्विन राउतले पनि आत्मदाहको प्रयास गरेको घटनालाई अत्यन्त दुःखद् भएको उल्लेख गरेका छन् ।
‘हिजो गणेश नेपालीको आत्मदाहको घटनाबाट उत्पन्न आक्रोश बढिरहेको बेलामा फेरि सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरे । आज फेरि काठमाडौंको बुद्धनगरमा ४५ वर्षीय अश्विन राउतले आत्मदाहको प्रयास गरेको खबर आयो । यी घटनाहरू अत्यन्त दुःखद छन् । सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’ बस्नेतले फेसबुकमा लेखेका छन्, ‘लगातार यस्ता घटनाले एउटा गम्भीर प्रश्न उठाएको किन नागरिकहरू यति धेरै निराश, आक्रोशित र असहाय महसुस गरिरहेका छन् ? मेरो बुझाइमा, वर्तमान बालेन सरकारले पुराना दल र नेतालाई झुटो आरोप लगाएर, भ्रम छरेर, जनतामा जगाएको ठूलो अपेक्षा र त्यसअनुसार परिणाम नआउँदा धेरैमा निराशा र असन्तुष्टि बढेको छ ।’
नेता बस्नेतले कुनै पनि नेतृत्वको दायित्व जनतालाई भ्रम नभई भरोसा दिनु रहेको बताउँदै जनताको आशा र विश्वास जोगाउँदै समस्याको समाधान संवाद, जिम्मेवारी र सुशासनबाट खोजिनुपर्ने बताए ।
‘जीवनभन्दा ठूलो केही छैन, त्यसैले कुनै पनि पीडाको समाधान आत्मदाह वा हिंसा हुन सक्दैन । त्यो वातावरण बन्न नदिन सरकारले सकेन भने जनताको आक्रोशमा बालेन सरकार भष्म हुनेछ ।’ बस्नेतले भने ।







प्रतिक्रिया