३२ असार २०८३, बिहिबार

पुष्पलाल मध्यपहाडी लोकमार्ग नभएको भए तेह्रथुम रित्तिन्थ्योः पूर्वमन्त्री गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-उमेश नेपाली

तेह्रथुम । पूर्व शहरी विकासमन्त्री सीता गुरुङले पुष्पलाल मध्यपहाडी लोकमार्गले तेह्रथुमबाट हुने बसाइँसराइलाई उल्लेखनीय रूपमा नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन्। उनले सडक पूर्वाधारसँगै स्थानीय तहका प्रशासनिक भवन निर्माणले गाउँमै सेवा र अवसरको विस्तार गर्दै नागरिकलाई आफ्नै ठाउँमा टिकाइराख्न सहयोग पुगेको धारणा व्यक्त गरिन् ।

शुक्रबार म्याङ्लुङ नगरपालिका ९ साब्लास्थित १ करोड ८ लाख रुपैयाँ बराबरको लागतमा निर्माण सम्पन्न भएको एकीकृत प्रशासनिक वडा कार्यालय भवनको समुद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै पूर्वमन्त्री गुरुङले मध्यपहाडी लोकमार्ग निर्माण नभएको भए तेह्रथुमबाट बसाइँसराइको अवस्था अझ भयावह हुने दाबी गरिन्।

पूर्वमन्त्री गुरुङले मध्यपहाडी लोकमार्गले जिल्लालाई राष्ट्रिय सडक संजालसँग जोडेर कृषि, व्यापार, पर्यटन तथा अन्य आर्थिक गतिविधिलाई चलायमान बनाएको उल्लेख गर्दै विकासका यस्ता पूर्वाधारले नागरिकमा गाउँमै भविष्य देख्ने विश्वास बढाएको बताइन।

स्थानीय सरकारलाई प्रभावकारी बनाउन व्यवस्थित प्रशासनिक पूर्वाधार अपरिहार्य रहेको उल्लेख गर्दै आफ्नै भवनबाट सेवा संचालन हुँदा सेवाग्राहीले छिटो, सहज र गुणस्तरीय सेवा पाउने पूर्वमन्त्री गुरुङले विश्वास व्यक्त गरिन् । उनले स्थानीय तहलाई अधिकारसँगै आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउनु संघीय शासन प्रणालीको सफल कार्यान्वयनका लागि महत्वपूर्ण हुने धारणा राखिन् ।

म्याङ्लुङ नगरपालिका ९ को एकीकृत प्रशासनिक वडा कार्यालय भवन नेपाल सरकारको तत्कालीन शहरी विकास मन्त्रालय अन्तर्गतको कार्यक्रममार्फत निर्माण गरिएको हो । निर्माण कम्पनी अम्बिकागौरी निर्माण सेवाले तोकिएको समयमै भवन निर्माण सम्पन्न गरेको वडा कार्यालयले जनाएको छ ।

समुद्घाटन समारोहमा म्याङ्लुङ नगरपालिकाका नगर प्रमुख संजयकुमार तुम्बाहाङ्फे, नगर उपप्रमुख जमुना कार्की सुवेदी, वडा अध्यक्ष राकेश कुमार फुदोङ लिम्बु, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।
वडा अध्यक्ष राकेश कुमार फुदोङ लिम्बुले नवनिर्मित भवन संचालनमा आएपछि वडा कार्यालयबाट प्रदान हुने प्रशासनिक सेवा थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बन्ने विश्वास व्यक्त गरे ।

नवनिर्मित भवन समुद्घाटनसँगै म्याङ्लुङ नगरपालिका ९ नं. वडा कार्यालयले आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवनबाट नियमित सेवा प्रवाह सुरु गरेको छ । स्थानीयवासीले अब व्यवस्थित वातावरणमा वडा कार्यालयका सेवा प्राप्त गर्न सक्ने भएका छन्।