काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई केवल सत्ता परिवर्तनको रूपमा नभई आर्थिक–सामाजिक अन्तर्विरोधबाट उत्पन्न असन्तोषको परिणाम भएको बताएका छन् ।
पोखरेलले आम निर्वाचन २०८२ मा नयाँ शक्तिको उदय जनताको सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणप्रतिको अपेक्षासँग जोडिएको उल्लेख गर्दै लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको जगमा उभिएको नयाँ शक्ति दीर्घकालसम्म टिक्न नसक्ने ठोकुवा गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा वर्तमान राजनीतिकप्रति लामो टिप्पणी गर्दै पोखरेलले पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा र वैदेशिक रोजगारीका कारण नेपालीहरूको जीवनस्तर उकासिए पनि त्यसअनुसार आर्थिक वृद्धि र वैधानिक आम्दानी बढ्न नसक्दा असन्तुष्टी चुलिएको उल्लेख गरे ।
जीवनस्तर र आयबीचको यही असन्तुलनले समाजमा व्यापक असन्तोष सिर्जना गरेको हो । वस्तु तथा सेवाको उपभोग बढ्यो, तर त्यसलाई धान्ने आय बढेन भन्दै उनले यही परिस्थितिले भ्रष्टाचार, कालोबजारी, अपराधीकरण, पैतृक सम्पत्तिको क्षय र तीव्र वैदेशिक पलायनलाई बढावा दिएको उल्लेख गरेका छन् । राज्यले समयमै यी समस्याप्रति ध्यान नदिँदा नागरिकमा निराशा र आक्रोश बढेको उनको भनाइ छ ।
महासचिव पोखरेलले आम निर्वाचन २०८२ मा मूलधारका दलहरूले देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई प्रमुख एजेन्डा बनाए पनि त्यसले मतदातालाई आकर्षित गर्न नसकेको बताए । बरु भ्रष्टाचार अन्त्य, सुशासन र रोजगारीलाई मुख्य मुद्दा बनाएका वैकल्पिक शक्तिहरूले जनमत आफ्नो पक्षमा पार्न सफल भएको उनको विश्लेषण छ ।
उनले पुराना शक्तिबाट पूरा नभएका अपेक्षा नयाँ शक्तिबाट मात्र सम्भव छन् भन्ने भाष्य उनीहरु सफल भएको बताएका छन् । सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले त्यसलाई थप बल पुगेको र मूलधारका राजनीतिक दलहरूले त्यसको प्रभावकारी प्रतिवाद गर्न नसकेको पनि उनको टिप्पणी छ ।
पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तनमा भूराजनीतिक प्रभाव समेत रहेको दाबी गरेका छन् । उनका अनुसार पुराना दलहरूको विपक्षमा र नयाँ शक्तिको पक्षमा जनमत निर्माण गर्न बाह्य चलखेल भएको थियो ।
पोखरेलले जेनजी अभियानकर्ताका नाममा भएका प्रदर्शनहरूलाई भिडन्तमा रूपान्तरण गरेर जनआक्रोश बढाउने प्रयास भएको दाबी गर्दै भदौ २३ र २४ का घटनाको जगमा भएको सत्ता परिवर्तनमा बाह्य शक्तिको हस्तक्षेप रहेको उल्लेख गरे । नयाँ शक्तिको भविष्यबारे टिप्पणी गर्दै पोखरेलले लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको आधारमा सत्तामा पुगेको नयाँ शक्तिले लामो समयसम्म जनविश्वास कायम राख्न नसक्ने दाबी गरे ।
महासचिव पोखरेलले वर्तमान सरकारले लोकतान्त्रिक र संवैधानिक प्रक्रियाबाट समस्याको समाधान खोज्नुको सट्टा स्वेच्छाचारी र अधिनायकवादी शैली अपनाउन खोजिरहेको उल्लेख गरेका छन् । लामो लोकतान्त्रिक आन्दोलनबाट परिपक्व बनेको नेपाली समाजले यस्तो अलोकतान्त्रिक अभ्यासलाई लामो समय स्वीकार गर्दैन भन्दै उनले यस्तो प्रवृत्ति छिट्टै अस्वीकार हुने बताए ।







प्रतिक्रिया