काठमाडौं । विश्व फुटबल जगतका महान् खेलाडीमध्येका एक पोर्चुगलका क्रिस्टियानो रोनाल्डोका लागि फिफा विश्वकप जित्ने सपना फेरि पनि अधुरै बनेको छ ।
फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएको हो ।
खेलपछि ४१ वर्षीय रोनाल्डो भावुक बने र मैदानमै उनका आँखाबाट आँसु झरे ।
खेल सकिनेबित्तिकै रोनाल्डो आफूलाई सम्हाल्न सकेनन् । रोनाल्डो मैदानमै भक्कानिएर रोए । विश्वकपको उपाधि जित्ने उनको सपना फेरि एकपटक अधुरै रह्यो ।
यद्यपि, रोनाल्डोले फुटबलबाट सन्यासको घोषणा गरेका छैनन् । खेलअघि नै उनले सन् २०२६ को विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने भनेका थिए ।
स्पेनविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा रोनाल्डोले २०२६ को फिफा विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने बताएका थिए ।
उनले भनेका थिए, ‘हो, यो मेरो अन्तिम विश्वकप हो । अब म यसको पूर्ण रूपमा आनन्द लिन चाहन्छु ।’ उनको यो भनाइपछि विश्वभरका फुटबलप्रेमीहरू रोनाल्डो आफ्नो अन्तिम विश्वकपलाई यादगार बनाउन सक्छन् कि सक्दैनन् भनेर हेर्न उत्सुक थिए । तर पोर्चुगल स्पेनसँग पराजित भयो ।
डालस रंगशालामा खेलिएको अन्तिम १६ को खेल सुरुदेखि अन्त्यसम्म निकै प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसर पाए पनि कुनै गोल हुन सकेन ।
दोस्रो हाफमा पनि खेल बराबरी रहेको थियो र खेल अतिरिक्त समयतर्फ धकेलिने देखिएको थियो । तर, इन्जुरी समयको ९० प्लस १ औं मिनेटमा स्पेनका फेरान टोरेसको उत्कृष्ट पासलाई मिकेल मेरिनोले शानदार फिनिसिङमार्फत गोलमा परिणत गरे । मेरिनोको उक्त गोल निर्णायक सावित भयो र पोर्चुगलको यसपटकको विश्वकप यात्रा टुंगियो ।













प्रतिक्रिया