काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिनाले जोर्डनलाई ३–१ गोलले हराएको छ ।
डलास रंगशालामा आज भएको खेलमा १९ औं मिनेटमा जियोभानी लो सेल्सोको गोलमा अर्जेन्टिनाले १–० को अग्रता लिएको थियो ।
३१ औं मिनेटमा जोर्डन टोलीले आफ्नै बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनालाई पेनाल्टी दिइएको थियो । लाउटारो मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए ।
खेलको दोस्रो हाफपछि जोर्डनका मुसा अल–तामारीले ५५ औं मिनेटमा गोल गर्दै खेल २–१ मा पुर्याए ।
तर खेलको ६० औं मिनेटमा मैदान उत्रिएका कप्तान लियोनेल मेस्सीले ८० औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै ३–१ को अग्रता बनाए ।
डी बक्सभन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई फउल गरेपछि प्राप्त फ्रिकिकलाई उनले सिधै जाली चुमाउँदै अर्जेन्टिनालाई ३–१ को जित दिलाए ।
जारी विश्वकपमा मेस्सीको यो छैटौं गोल होल हो । यसअघि उनले अल्जेरियाविरुद्ध ह्याट्रिक तथा अस्ट्रियाविरुद्ध दुई गोल गरेका थिए । यस गोलसँगै विश्वकप इतिहासमा मेस्सीको कुल गोल संख्या १९ पुगेको छ ।
आजको खेलमा मेस्सी सुरुवाती टोलीको हिस्सा थिएनन्, उनी ६० औं मिनेटमा मैदान उत्रिएका थिए ।
अब अर्जेन्टिनाको टोलीले राउन्ड अफ ३२ मा केप भर्डेसँग खेल्नेछ । केप भर्डले आफ्नो डेब्यू विश्वकपमा प्रभावशाली प्रदर्शन गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको हो ।








प्रतिक्रिया