२९ आश्विन २०८३, बिहिबार

फ… लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा म महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ : मुकुल ढकाल

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा आफूलाई निमन्त्रणा नगरिएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा राख्दै ढकालले रास्वपाको सुरुआती संघर्षदेखि वर्तमान अवस्थासम्मको यात्रा सम्झिएका छन्। पार्टी दर्ताका लागि आवश्यक नागरिकता संकलन गर्न समेत कठिन अवस्था सामना गर्नुपरेको उल्लेख गर्दै उनले अहिले पार्टी सत्ताको नेतृत्वसम्म पुग्नु ऐतिहासिक उपलब्धि भएको बताएका छन्।

यद्यपि, पार्टी निर्माणमा सुरुदेखि भूमिका खेलेको व्यक्ति नै पहिलो महाधिवेशनको निम्तो सूचीमा नपर्नु दुःखद भएको उनको टिप्पणी छ।

उनले लेखेका छन्, ‘विडम्बना, पार्टीलाई ‘फ…’ लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ।’

रास्वपाबाट निष्कासित भइसकेका ढकालले आफू महाधिवेशनमा उपस्थित नभए पनि पार्टीले सही नीति र मार्ग रोजे त्यसमा आफ्नो समर्थन रहने उल्लेख गरेका छन्। उनले प्रतिनिधिहरूलाई व्यक्ति केन्द्रित राजनीतिभन्दा विचार, नीति र संस्थागत विकासलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

महाधिवेशनले पद र शक्ति बाँडफाँडमा मात्र सीमित नभई पार्टीको दीर्घकालीन दिशा तय गर्ने अवसरका रूपमा काम गर्नुपर्ने उनको धारणा छ। व्यक्तिभन्दा विचार, गुटभन्दा संगठन र पदभन्दा उद्देश्यलाई प्राथमिकता दिएर निर्णय लिन उनले प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।