वीरेन्द्रनगर, २८ साउन । आन्दोलनको अनुगमन गर्न सुर्खेत आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले दुवै पक्षलाई संमयता अपनाउन आग्रह गरेको छ ।
दुवै पक्षको कमीकमजोरी औलाउँदै आयोगले दुवै पक्ष शान्त भए आन्दोलन आफै शान्त हुने धारणा राखेको छ । अखण्ड मध्यपश्चिम र प्रान्तीय राजधानी सुर्खेत हुनुपर्ने माग राख्दै थालिएको आन्दोलन चार दिनदेखि हिंसात्मक बनेपछि तीनजनाले ज्यान गुमाएका छन् भने कैयौ घाइते भएका छन् । सुर्खेतलगायतका मध्यपश्चिमका केही जिल्लामा थालिएको आन्दोलनको अनुगमन गर्न आएका टोलीले आज मानवअधिकार कर्मी र सञ्चारकर्मीसँग अन्र्तक्रिया गर्दै वास्तविकता वुझेको थियो ।
आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले आन्दोलन हिंसात्मक बन्नु दुःखद् भएको बताउनुभयो । उहाँले दुवै पक्षबाट संयमता नपनाउँदा जनधनको क्षति हुन पुगेको धारणा राख्नुभयो ।
आन्दोलनमा घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्नुपर्ने भन्दै उहाँले मृतक र घाइतेलाई क्षतिपूर्तिका लागि आयोगले दवाव दिइरहेको उल्लेख गर्नु भयो ।
पुनरावेदन वारका अध्यक्ष विवशकुमार बस्नेतले आन्दोलन नेतृत्वविहीन हँुदा अराजक हुन पुगेको बताउनुभयो । उहाँले अब दलहरुले आ–आफ्ना कार्यकर्ता सम्हालेर आन्दोलनलाई शान्तिपूर्ण बनाउन सके आन्दोलन शान्त हुने जिकिर गर्नुभयो ।
कार्यक्रममा सञ्चारकर्मी र मानवअधिकारकर्मीले प्रहरी र आन्दोलनकारीले संयमता अपनाउन नसक्दा क्षति भएको बताएका थिए । रासस















प्रतिक्रिया