काठमाडौं, २८ साउन । कामदार भीसामा थाइल्याण्ड पठाएर लाखौं ठगी गर्ने डिबेस्ट एजुकेशन कन्सल्ट्यान्सीका सञ्चालिका गायत्री वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नवलपरासी घर भएकी वाग्लेलाई स्युचाटारबाट पक्राउ गरेको हो । २८ वर्षीय सञ्चालिका वाग्लेले काठमाडौ बुढानिलकण्ठका गोकुल क्षेत्रीलाई मासिक ६० हजार तलब पाउने गरी थाइल्याण्ड पठाएका थिए ।
थाइल्याण्ड जाँदा गोकुलले गायत्रीलाई साढे तीन लाख रुपैयाँ बुझाएका थिए । जसमा १ लाख गायत्रीको हातमा र २ लाख ५० हजार गायत्रीका दाजु भिमेश डोटेललाई बुझाएका थिए ।
उनले थाइल्याण्ड पुगेर गायत्रीको दाजु भीमेशको सहयोगमा एक जना थाई नागरिकलाई भेटेका थिए । तर, उनले २० दिन बस्दासमेत कुनै काम पाएनन् । त्यसपछि उनी नेपाल फर्किए । नेपाल फर्केर सञ्चालिका गायत्रीलाई फेरि भेटेर आफूले थाईल्यण्डमा काम नपाई फर्किएको बताउँदा तिम्रो रकम फिर्ता गर्न मिल्दैन तिमीलाई पुनःराम्रो कामको व्यवस्था मिलाई दिन्छु भनेर दोस्रो चोटी थाइल्याण्ड पठाइन् ।
दोस्रो पटक जाँदा समेत काम नपाएपछि करिब १ महिना मै नेपाल फिर्ता आई रकम फिर्ता माग्दा गायत्रीले तिम्रो रकम फिर्ता गर्न मिल्दैन भनेपछि आफू ठगिएको थाहा पाएर गोकुलले अपराध महाशाखामा उजुरी दिएका थिए ।
दुई दुई पटक थाइल्याण्ड पठाइ ठगी गर्ने गायत्रीलाई महाशाखाको टोलीले बिहीबार स्युचाटारबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा गायत्रीको कन्सल्ट्यान्सी शिक्षा मन्त्रालयबाट शैक्षिक परामर्श सेवाको लागि अनुमती नलिएको पाइएको छ । यसरी गठी गर्ने गायत्रीलाई महाशाखाले ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसरमा पठाएको छ ।















प्रतिक्रिया