काठमाडौं । सीमा विवादसम्बन्धी विषयमा प्रधानमन्त्री बालेन साहले संसदमा व्यक्त गरेको अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरूले आपत्ति जनाउँदै स्पष्टिकरण माग गरेका छन् ।
सोमबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति आफ्नो दलको गम्भीर ध्यानाकर्षण भएको बताइन् ।
उनले भनिन्, ‘हिजो प्रधानमन्त्रीज्यूले सदनमा प्रश्नोत्तरका क्रममा दिनुभएको जवाफप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीको आपत्ति छ । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा स्पष्ट पार्नुपर्छ । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई सामान्य रूपमा लिन मिल्दैन । उहाँले सदनमा आएर नेपाली जनतामाझ आफ्नो धारणा स्पष्ट पार्नुपर्छ ।’
त्यस्तै, श्रम, संस्कृति पार्टीका सांसद आरेन राईले देशको हितका विषयमा सत्तापक्ष र प्रतिपक्ष एकजुट हुनुपर्ने बताए ।
उनले भने, ‘देशले मागेको बेला सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्छ। हिजो प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति अपरिपक्व र निकै कच्चा ढंगको थियो । सच्चा देशभक्त नेपाली जनताले यसप्रति चिन्ता व्यक्त गरिरहेका छन् । उहाँ भावनामा बहकिनुभएको हो वा जिब्रो चिप्लिएको हो, त्यसबारे सदनमा स्पष्ट पार्नुपर्छ ।’
यस्तै, नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत भएको टिप्पणी गरे ।
उनले भने, ‘प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्ति दिनु अत्यन्त गैरजिम्मेवार कुरा हो । यो राष्ट्रघाती अभिव्यक्ति हो । यदि उहाँसँग त्यस्तो दाबी गर्ने आधार छ भने कहाँ र कुन ठाउँमा भूमि मिचिएको हो भन्ने तथ्य सदनमार्फत आम नागरिकलाई जानकारी गराउनुपर्छ । यदि तथ्य पुष्टि गर्न सकिँदैन भने उहाँले संसदको गरिमामय रोष्ट्रमबाट माफी माग्नुपर्छ ।’








प्रतिक्रिया