ललितपुर, २७ साउन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले अबको नयाँ नेपालको नेतृत्व युवाको काँधमा आएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा किसान सङ्घ नेपालद्वारा आज यहाँ आयोजित ‘धान बचाऔँ’ अभियानको उद्घाटन गर्दै उहाँले सङ्घीय गणतान्त्रिक संविधान जारी भएपछि मुलुक हाँक्ने जिम्मेवारी युवालाई दिइने बताउनुभयो ।
उहाँले विदेसिएका युवालाई नेपालमै रोजगारी दिन कृषि क्रान्तिको खाँचो औँल्याउँदै कृषि क्षेत्रबाट अत्यधिक रोजगारीको सिर्जना गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । युवा जमातलाई विकास निर्माण र आर्थिक क्रियाकलापमा संलग्न गराएर अर्थतन्त्रलाई बलियो बनाउनु पर्नेमा मन्त्री गौतमको जोड थियो ।
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउन कृषि क्षेत्रलाई प्राथमिकता दिनुको विकल्प नभएको बताउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद्का धान विशेषज्ञ हरिकृष्ण उप्रेतीले नेपालमा झण्डै तीन हजार प्रजातिका धान रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार अहिले नेपालमा ७५ प्रजातिका धानको बीउ रोप्न सिफारिस गरिएको छ ।
अखिल नेपाल किसान महासङ्घका उपमहासचिव बलराम बास्कोटाले कृषकको हक अधिकारका लागि किसान आयोग बनाइनुपर्छ भन्नुभयो । रासस















प्रतिक्रिया