पर्सा, २७ साउन । चार दलीय सहमतिको आधारमा ल्याइएको ६ प्रदेशको विरोध गर्दै आज वीरगन्जमा थारु कल्याणकारिणी सभाले प्रदर्शन गरेको छ ।
विभेदकारी प्रान्त निर्माण गरी थारुलाई अधिकारबाट वञ्चित गर्ने चार दलले गरेको निर्णयको विरोध गर्दै थारु कल्याणकारिणी सभाले वीरगन्जको घन्टाघर चोकमा एक कार्यक्रमबीच चार दलका शीर्षनेतालाई कारबाहीको माग समेत गरेका छन् । उनीहरुले पाँचै नेतालाई कारवाही गरी जेल हाल्नुपर्ने माग गरेका हुन् ।
थारु कल्याणकारी केन्द्रीय समितिको निर्णयअनुसार वीरगन्जको घन्टाघरमा थारु कल्याणकारिणी सभाले आयोजना गरेको तथा केन्द्रीय सदस्य मोहन गौरोको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वक्ताले कञ्चनपुर, कैलालीदेखि झापासम्म रहेका नेपालका आदिवासी जनजाति थारुको भावनाविपरीत चार ठूला भनिने दलहरुले धोका दिएको धारणा व्यक्त गरेका छन् ।
साथै, प्रदेशको नामबाहेकका सबै मुद्दामा मधेसीदलको मागसँग आफूहरुको ऐक्यबद्धता भएकाले अविलम्ब साझा विरोधका कार्यक्रमसमेत आह्वान गर्न उनीहरुले माग गरेका छन् । रासस















प्रतिक्रिया