धनगढी, २६ साउन । धनगढीमा सिविन नेपालद्वारा सञ्चालीत बाल हेल्पलाइन बालबालिकाको लागि ठूलो सहयोगी हुँदै आएको छ ।
हेल्पलाइनले छ महिनाको अवधिमा झण्डै दुई हजार बालबालिकाको उद्धार, पुर्नस्थापनाका साथै राहत वितरण गरेको छ । सो संस्थाका अनुसार २०७१ पुसदेखि २०७२ असारमसान्तसम्म विभिन्न समस्यामा परेका ति बालबालिकाहरुलाई सिविनको संलग्नतामा सहयोग गरिएको हो ।
छ महिनाको अवधिमा नौ सय ५५ बालक र नौ सय ५४ बालिकाको गरी एक हजार ९०९ बालबालिकाको उद्धार, पुर्नस्थापनाका साथै राहत वितरण गरिएको सिविन नेपालका धनगढी संयोजक माधव लोहनीले जानकारी दिए ।
संयोजक लोहनीका अनुसार ति बालबालिका मध्ये जोखिमपूर्ण अवस्थामा रहेका ८७ बालबालिकाको आपतकालीन उद्धार, आपतकालीन उद्धार गरी १० बालबालिकालाई राहत वितरण, छ बालिकालाई मनोपराकर्श तथा १६ बालबालिकालाई पारिवारिक परामर्श दिइएको छ ।
यसैगरी, जोखिमपूर्ण अवस्थामा रहेका ४६ बालबालिकालाई उद्धार गरी पारिवारिक पुर्नमिलन, हराएका १९ बालबालिकाको खोजी गरी पारिवारिक पुर्नमिलन, बेवारिसे अवस्थामा भेटिएका २४ बालबालिकाको पनि पारिवारिक पुर्नमिलन तथा पुर्नस्थापना गरिएको सिविन धनगढीले जनाएको छ ।
त्यस्तै सोही अबधिमा १९ बालबालिकालाई आवधिक आवासीय गृहको संरक्षणमा, ९ बालबालिकालाई संरक्षणका लागि बालगृहमा स्थानान्तरण तथा जोखिममा रहेका ६६ बालबालिकालाई साधन प्रयोग गरी उद्धार गरेर पुर्नस्थापना गरेको गरिएको संयोजक लोहनीले बताए ।
समस्यामा परेका १२ बालबालिकाको प्राथमिक उपचार गरियो भने १ हजार २३७ बालबालिकालाई बालअधिकार बारे स्थलगत भ्रमण, ८ बालबालिकालाई कानूनी सेवा, २८४ बालबालिकालाई शैक्षिक सहायता दिएको संयोजक लोहनीले पत्रकारलाई जानकारी दिए ।
दुई जना श्रमिक बालबालिकाको उद्धार गरी पुर्नस्थापना, बेचबिखन तथा ओसारपसारमा १३ जना बालबालिकाको उद्धार गरी पुर्नस्थापना, हिंसा, शोषणमा परेका ११ जना बालिकाको उद्धार तथा पुर्नस्थापना, कारागारमा रहेका छ जना बालबालिकाको उद्धार गरी पठनपाठनको ब्यवस्था र ३४ जना बालबालिकालाई सामाजिक संरक्षण गरिएको सिविन धनगढीले जनाएको छ ।
बालबालिकाका क्षेत्रमा काम गर्दै आएको सिविनले पछिल्ला दिनमा बलात्कार तथा घरेलु हिंसाको घटनामा बृद्धि हुँदै आएको जनाएको छ । संयोजक लोहनीले बलात्कारका घटनामा बृद्धि भएपनि गाउँठाउँमै मेलमिलाप गर्ने प्रबत्तिले घटना सार्वजनिक हुन नपाई अपराधिले उन्मुक्ति पाउने गरेका छन् भने ।
उनका अनुसार बालबालिकाको क्षमता अभिबृद्धि र कानुनी कुरा बारे जानकारी गराउन उद्देश्यले ८७ बालबालिकालाई क्षमता अभिबृद्धि तालिम, ३ हजार ७४३ बालबालिकालाई सचेतना अभिबृद्धि सम्बन्धी कार्यक्रम पनि गरिएको छ ।
त्यस्तै बालबालिकाको सहयोगका लागि राखिएको पैसा नपर्ने १०९८ नम्बरको बाल हेल्पलाइन ३२४ बालबालिकाले आफ्नो समस्या राखेका थिए भने २ हजार ११३ अभिभावक तथा अन्यले बालबालिकाका विभिन्न पक्ष बारे जानकारी लिए दिएको सिविनकको सो छ महिनाको तथ्यांकमा उल्लेख छ ।
सिविन नेपालले धनगढीमा बिगत छ महिनादेखि बाल हेल्पलाइन स्थापना गरी जोखिममा रहेका बालबालिकाको उद्धार, पुर्नस्थापना र राहत सम्बन्धी काम गरिरहेको जनाएको छ ।















प्रतिक्रिया