काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले सडक दुर्घटनालाई राष्ट्रिय संकटको रूपमा चित्रण गर्दै राष्ट्रिय ट्रमा नीति आवश्यक रहेको बताएकी छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्तै गम्भीर भएपनि राज्यको प्राथमिकतामा नपरेको टिप्पणी गरिन् । उनका अनुसार नेपालमा दैनिक औसत आठ जना सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् ।
‘बिहान घरबाट निस्किएका धेरै नेपाली बेलुका घर फर्किन सक्दैनन् । कसैको बुबा फर्किंदैनन्, कसैको छोराछोरी र कसैकी आमाको काख रित्तो हुन्छ,’ उनले भनिन् ।
सांसद कार्कीले प्रहरी मुख्यालयको तथ्यांक उद्धृत गर्दै वर्षेनी करिब तीन हजार नेपालीले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेको बताइन् । पछिल्लो १० वर्षमा मात्रै २४ हजार ९५ जनाको मृत्यु भएको उल्लेख गर्दै उनले वास्तविक संख्या अझ बढी हुनसक्ने दाबी गरिन् ।
‘सुदूर जिल्लाका धेरै दुर्घटनाहरू अभिलेखमै नपर्ने भएकाले वास्तविक तथ्यांक अझ भयावह हुन सक्छ,’ उनले भनिन् ।
उनले सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७० प्रतिशत १५ देखि ४९ वर्ष उमेर समूहका युवाहरू रहेको बताइन् । ‘यी नै देशको उत्पादनशील शक्ति र परिवारका मुख्य सहारा हुन् । एउटा कमाउने सदस्य गुम्दा परिवार गरिबीको चक्रमा फस्छ, राष्ट्रको उत्पादन क्षमता पनि कमजोर हुन्छ,’ उनले भनिन् ।
सांसद कार्कीले सडक सुरक्षा, प्रभावकारी उपचार प्रणाली तथा राष्ट्रिय ट्रमा नीति निर्माणमा सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याइन् ।















प्रतिक्रिया