काठमाडौं । थापाथली चोकमा ट्राफिक प्रहरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङबीच ट्राफिक व्यवस्थापनलाई लिएर वादविवाद भएको छ। घटना आज करिब ३ बजेतिर भएको हो।
सांसद तामाङ संसद बैठकबाट फर्किँदै गर्दा थापाथली क्षेत्रमा उनको सवारी रेड लाइटमा रोकिएको थियो। केही समयपछि हरियो बत्ती बलेपछि गाडी अगाडि बढाउन खोज्दा ट्राफिक प्रहरीले जेब्रा क्रसिङ क्षेत्रमा पैदलयात्रुको आवागमन जारी रहेको भन्दै रोक्न संकेत गरेपछि विवाद भएको हो।
त्यस क्रममा पैदलयात्रुको सुरक्षालाई प्राथमिकता दिइएको भन्दै सवारी रोकिएपछि आफू असन्तुष्ट बनेको तामाङको भनाइ छ। उनले झ्याल खोलेर ट्राफिक प्रहरीसँग किन हरियो बत्ती बलेपछि पनि गाडी नचलाएको भन्दै प्रश्न गरेको बताइन्छ।
उक्त समयमा उनी गाडीको अगाडिको सिटमा बसिरहेकी थिइन्। ट्राफिक प्रहरीसँग केहीबेर संवादपछि स्थिति केही तिक्त बनेको र त्यसपछि उनी गाडीबाट बाहिर निस्किएको दृश्यसमेत देखिएको छ।
सोही स्थानमा अर्का ट्राफिक प्रहरीले चिट काट्ने काम गरिरहेका बेला तामाङले उनीसँग पनि कुरा गरेकी थिइन्। त्यसपछि परिस्थिति सामान्य बनेको र उनी पुनः आफ्नो यात्रामा अघि बढेको बताइएको छ।
तामाङले भने आफूले कुनै पूर्वाग्रह नराखी सामान्य नागरिक सरह ट्राफिक नियम कार्यान्वयनबारे प्रश्न मात्र उठाएको प्रतिक्रिया दिएकी छन्। उनले संसारभर हरियो बत्ती बलेपछि सवारी अघि बढ्ने नियम भए पनि थापाथलीमा भने व्यवहार फरक देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।















प्रतिक्रिया