
– नरेन्द्रसिंह कार्की
दार्चुला, २६ साउन । राष्ट्रियताको अभियानसहित काठमाडौं दार्चुला जागरण अभियानमा हिँडेका दश जना युवकहरुलाई भारतीय सुरक्षाकर्मीले सीमा पूलबाट गिरफ्तार गरेको छ ।
लिपुलेक नेपालकै हो भन्ने टोपी लगाएर भारतीय बजार धार्चुला घुम्न जाने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले उनीहरुलाई गिरफ्तार गरेको हो ।

गिरफ्तारमा पर्नेहरुमा मोहन आचार्य, खगेन्द्र कडेल, सन्दीप गौतम, शीभ गौतम, सुशिल बस्नेत, दिनेश जमरकट्टेल, सुदर्शन पौडेल, पूजन खनाल, अंकित तिवारी र किरन पौडेल रहेका छन् । उनीहरुलाई छुटाउन जिल्ला प्रशासन कार्यालयले कुटनीतिक पहल गरिरहेको छ ।
भारत–चीनबीच भएको लिपुलेक सम्झौता खारेजीको माग गर्दै नेकपा माओवादी बैद्य निकटका विद्यार्थीहरुले काठमाडौ दार्चुला जागरण अभियान चलाएका हुन् । दार्चुला सदरमुकाम खलंगामा मार्चपास गर्दै उनीहरुले सम्झौता खारेजीको माग गरेका छन् । चीन र भारतले नेपाली भूमि कब्जा गर्न नमिल्ने भन्दै राष्ट्रियताको सवालमा आफूहरु कहिल्यै नझुक्ने प्रतिक्रिया दिएका छन् ।

जागरण अभियानको कोण सभामा बोल्दै अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेले आफूहरु भारतलाई होच्याउन घोच्याउन नआएको भन्दै तत्काल सम्झौता खारेजीको माग गरे । उनले भने, ‘हामीहरुका कार्यकर्तालाई गिरफ्तार गरेर भारतले ठिक गरेन । यसको प्रतिबाद गरिन्छ ।’ आफ्नो जमिनको आवाज उठाउँदा नेपाली नागरिक गिरफ्तार हुन्छन, सीमामा हेपिन्छन् भने सहेर बसिदैन उनले चेतावनी दिए ।
सम्झौता खारेजी अन्तरगत पहिलो चरणमा जागरण अभियान चलाएको भन्दै उनले भने ‘यसबाट खारेजी भएन भने कुटनीतिक अभियान र अन्तराष्ट्रिय मुद्धा बनाएर भएपनि आफ्नो भूमी फिर्ता गराइन्छ ।’

कार्यक्रममा बोल्दै क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रत्न ढकालले आफूहरु भारत विरुद्ध लड्न नभई जमिन फिर्ता गराउन आएको बताए । उनले भने, अहिले लड्न आएका होइनौ, लड्नै परे नेपालीको चिनारी गोर्खाली खुकुरी चलाउन जानेकै छौ ।
लिपुलेक बचाउँ अभियान फिर्ता गराउन भन्दै अखिल क्रान्तिकारीका एकसय बढी विद्यार्थी सदरमुकाम खलंगा पुगेका हुन् । उनीहरुले नेपाली भूमि हुँदै लिपुलेक जाने बताएका छन् ।
उता भारतीय सुरक्षाकर्मीहरुले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छन् । मंगलबार सदरमुकाम खलंगा र धार्चुलामा हिँड्ने सर्वसधारणलाई चेकजाँचमा कडाइ गरेको हो । यस्तै, भारतीय बजारमा काम गर्ने कामदारलाई समेत भारतले फिर्ता पठाएको छ । भारतले सीमा क्षेत्रमा सुरक्षाकर्मीले दोब्बरले बढाएको जनाइएको छ ।















प्रतिक्रिया