काठमाडौं । चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेत र अभिनेत्री प्रियंका कार्कीविरुद्ध अहिले सामाजिक सञ्जालमा बहिष्कार अभियान तीव्र बनेको छ । पछिल्ला दिनमा प्रयोगकर्ताहरूले उनीहरुका फिल्म नहेर्न आह्वान गर्दै ‘बहिष्कार ट्रेन्ड’ चलाएका हुन् ।
बस्नेतमाथि विगतमा भएको ‘जेनजी आन्दोलन’ (भदौ २३ र २४)का क्रममा संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी भएको घटनासँग जोडिएको आरोप पुनः सामाजिक सञ्जालमा चर्चामा आएको हो । ती घटनाका भिडियो तथा तस्वीरहरूमा उनी देखिएको भन्दै प्रयोगकर्ताहरूले अभियान चलाएपछि बस्नेत बहिष्कारको सिकार हुनु परेको हो ।

आन्दोलनका बेला बस्नेत, कार्की लगायतका कलाकारहरुले हिंसात्मक गतिविधि भड्काउन भूमिका खेलेको आरोप समेत लाग्दै आएको छ ।
‘आतंककारी को यो मात्र हैन आउने सबै फिल्म हलमा मात्र हैन युट्युबमा समेत बहिस्कार । यति मात्रले पुग्दैन देशद्रोहीलाई कानुनी उपचार पनि गर्नु आवश्यक छ !’ एक प्रयोगकर्ताले फेसबुकमा बस्नेतको तस्वीर राख्दै लेखेकी छन् ।

हालै, चलचित्र ‘लालीबजार’को प्रदर्शनमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै रोक लगाएपछि बस्नेतले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि उनी काठमाडौंको माइतीघर मण्डलामा कलाकर्मीहरूले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी बनेका थिए । यही घटनापछि सामाजिक सञ्जालमा बस्नेत र कार्कीको फिल्म बहिष्कार गर्ने अभियान व्यापक बनेको हो ।

निर्देशक तथा कलाकार बस्नेत, कार्कीजस्ता चर्चित फिल्मकर्मीविरुद्ध चलेको यो बहिष्कार अभियानले नेपाली फिल्म उद्योगमा प्रत्यक्ष असर पार्नसक्ने चर्चा सुरु भएको छ । अभियानले चलचित्रको व्यापार र दर्शकको धारणा दुवैलाई प्रभावित पार्ने देखिएको छ ।
यसैबीच, बस्नेतले आफूलाई कसैले सही देख्ने कसैले गलत देख्ने टिप्पणी गरेका छन् । जानेर गलत नगर्ने र सही कुरामा पछि नहट्ने उल्लेख गर्दै शुक्रबार फेसबुकमा लेखेका छन्– मलाई कसैले सही देख्नुहुन्छ कसैले गलत देख्नुहुन्छ, म पनि मलाई कहिलेकाहीँ ठिक लाग्छ तर कहिलेकाहीँ लाग्दैन । जानेर गलत गर्दिन, सही कुरामा पछि हट्दिन ।
बस्नेतले बुद्धम् शरणम् गच्छामि उल्लेख गर्दै बुद्ध जयन्ती, उभौली पर्व र मजदुर दिवसको शुभकामना पनि दिएका छन् ।








प्रतिक्रिया