११ श्रावण २०८३, सोमबार

चलचित्र ‘कुम्भ’को पहिलो गीत सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘कुम्भ’को पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको रोमान्टिक गीत ‘स्वर्गकी परी’ सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा नवनायक अशोक आर्यन र नवनायिका सृष्टि खड्कालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत गीत सार्वजनिक गरिएको हो । गीतमा अन्जु पन्त र अनुप तिवारीको स्वर रहेको छ भने शब्द रचना रन्धिर श्रेष्ठकै रहेको छ । गीतमा संगीत अनुप तिवारीको रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली विशेष अतिथिको रूपमा उपस्थित थिए । उनले गीत रमणीय लोकेसनमा छायांकन गरिएको र निर्देशक रन्धिर श्रेष्ठ कुशल प्राविधिक भएकाले चलचित्र उत्कृष्ट बनेको तथा दर्शकलाई मन पर्ने विश्वास व्यक्त गरे । निर्देशक रणधीर श्रेष्ठले चलचित्र टेक्निकलरुपमा राम्रो बनेको र एक्सनमा केहि नयाँ प्रयोग गरिएको बताए । साउथ इन्डियन फिल्म ‘कान्तारा’मा काम गरेका द्वन्द कलाकारहरुलाई काम गरेको उनले बताए ।

नवनायक आर्यनले आफ्नो पहिलो फिल्म भए पनि आफूले सक्दो मेहनत गरेको बताए ।

लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा चलचित्र छायांकनमा सक्रिय श्रेष्ठले यस चलचित्रमार्फत एक्सन–लभ स्टोरी प्रस्तुत गरेका छन् ।

ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कुम्भ’ नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन गरिने जनाइएको छ । चलचित्रमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ ।

एक्सन विधामा निर्माण गरिएको यस चलचित्रमा नवनायक अशोक आर्यन, वरिष्ठ कलाकार सुनिल थापा र सुशील पोखरेलका साथै रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ । चलचित्रको छायांकन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको हो, जहाँ दक्षिण भारतीय कलाकारहरूको पनि अभिनय रहेको छ ।

चलचित्रको छायांकन तथा सम्पादन स्वयं निर्देशक श्रेष्ठले गरेका हुन् । द्वन्द्व निर्देशन संजय थापाले गरेका छन् भने निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न छन् । चलचित्रका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन् ।