९ कार्तिक २०८३, सोमबार

अखण्ड रुकुमको माग गर्दै रुकुममा प्रदर्शन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

darchula-health-post (1)

– महेश केसी
रुकुम, २४ साउन । अखण्ड रुकुमको माग राख्दै रुकुमको सदरमुकाम मुसिकोटमा आज प्रदर्शन गरिएको छ ।

शनिवार मध्यराति राजनीतिक दलका शीर्ष नेताहरुको विशेष समितिले संघीयताको सीमांकनमा ६ प्रदेशमा गरेको सहमतिमा रुकुम पूर्वको भागलाई पश्चिमको छैठौं प्रदेशमा गाभेको भन्दै नागरिक समाजको अगुवाइमा अखण्ड रुकुमको माग गर्दै आन्दोलन सुरु गरिएको हो ।

‘अखण्ड रुकुम–जिन्दावाद’, ‘रुकुम टुक्राउन पाईदैन’ जस्ता नाराहरु सहित भएको जिल्ला सदरमुकाममा प्रदर्शन गरेर अखण्ड रुकुमका लागि आजदेखि आन्दोलनको सुरुवात गरिएको आन्दोलनकर्मीले बताएका छन् । अखण्ड रुकुमसहितको प्रदर्शन सदरमुकाम मुसिकोट बजारलाई परिकर्मा गरी कालिका स्थानमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नागरिक अगुवाहरुले रुकुमलाई टुक्रा पार्न नहुने र रुकुम जिल्लालाई दुई भागमा विभाजन गर्दा जिल्लाको अस्तित्व नै संकटमा पर्ने कुरामा जोड दिएका थिए । साथै निहित राजनीतिक स्वार्थमा रोमल्लिएर रुकुमलाई खण्डित गरिएको र यसले रुकुम र रुकुमेलीलाई मार्माहत बनाएको कुरा समेत आन्दोलनकारीहरुले बताएका छन् । नागरिक समाज रुकुमका प्रतिनिधी आदर्श केसीका अनुसार यो आन्दोलन अखण्ड रुकुम कायम नहुन्जेल जारी रहने छ । २८७७ बर्ग किलोमिटर कुल क्षेत्रफल रहेको रुकुम जिल्लामा एक नगरपालिका ४१ गाविस रहेका छन् । जिल्लाका पूर्वमा बाग्लुङ्ग र म्याग्दी, पश्चिममा जाजरकोट, उत्तरमा डोल्पा र दक्षिणमा सल्यान र रोल्पा जिल्ला रहेका छन् ।

पर्यटन, कृषि र जडिबुटीको हिसावले मध्यपश्चिममै अत्यन्त सुन्दर जिल्लाका रुपमा रहेको रुकुम जिल्लालाई पूर्व पश्चिम छुट्याउदा जिल्लाको महत्वपुर्ण आर्थिक स्रोतका रुपमा रहेको ढोरपाटन सिकार आरक्ष क्षेत्र र जडिवुटीको स्रोतले सम्पन मानिने पूर्वी क्षेत्र र कृषि उत्पादनको हिसावले महत्वपुर्ण मानिने पश्चिम क्षेत्र समेत विभाजित हुनेछ र जिल्ला आर्थिक स्रोतका हिसावले समेत कमजोर हुने देखिएको छ ।

सिङ्गो रुकुम सल्यानलाई प्रदेश नं. ५ मा राख्न माग

रुकुम र सल्यानका सभासदहरुले रुकुम सल्यानलाई ५ नम्बर प्रदेशमा राख्नुपर्ने भन्दै संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको ध्यानाकर्षण गराएका छन् । रुकुम १ नम्वर निर्वाचन क्षेत्रबाट निर्वाचित सभासद गणेशमान पुन, समानुपातिक सभासद दलजित श्रीपाली र सल्यान १ नम्वर क्षेत्रबाट निर्वाचित सभासद टेकबहादुर बस्नेतले सिङ्गो रुकुम र सल्यानलाई पश्चिम क्षेत्रमा नभै राप्तीका अरु जिल्ला जस्तै प्रदेश नम्वर ५ मा राख्न आग्रह गरेका हुन् ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डाक्टर बावुराम भट्टराईलाई भेटी म्याग्दी जिल्लालाई पनि प्रदेश नम्बर ५ मा राख्नुपर्ने र बाग्लुङ पनि नटुक्र्याउन लिखित आग्रह गरिएको सभासद गणेशमान पुनले जानकारी दिनुभयो । सभासद पुनका अनुसार पहिचानका पाँच आधार र सामथ्र्यका चार आधारको आधारमा संघीयता बनाउने सैदान्तिक सहमति यस अघि भैसकेकाले त्यसको पूर्ण कार्यान्वनको लागि पनि सहमति समितिलाई आग्रह गरिएको छ ।