११ श्रावण २०८३, सोमबार

विदेशी ऋण स्वीकार गरेको बालेन सरकारलाई महासचिव पोखरेलको प्रश्न– हिजो विरोध किन ? आज स्वीकार किन ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बालेन साह नेतृत्वको सरकारको ऋण नीतिमाथि प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले दिगो पूर्वाधार विकासका लागि लिइने विदेशी ऋण नेपालका लागि बाध्यता मात्र नभई आवश्यकता पनि भएको उल्लेख गरे । तर, अघिल्लो सरकारको समयमा विदेशी ऋणकै विषयलाई लिएर कडा आलोचना गर्नेहरू अहिले आफैले ठूलो मात्रामा ऋण लिन थालेको उनको टिप्पणी छ ।

‘हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन् भन्ने विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ । हिजो विरोध किन ? आज स्वीकार किन ?’ पोखरेलको प्रश्न छ ।

महासचिव पोखरेलले सरकारले यसबारे जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनु आवश्यक रहेको उल्लेख गरेका छन् ।

गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंक र एसियाली विकास बैंक (एडीबी)बाट करिब २८ अर्ब ७५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको थियो ।