भैरहवा । भैरहवामा जारी २४ औं संस्करणको रुपन्देही सुपर लिग एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत ‘बी’ डिभिजनको बुधबारको खेलमा बुटवल–११ ले जित निकालेको छ । उसले बुटवल युथ क्रिकेट क्लबलाई ८ विकेटले हराउँदै सहज जित निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बुटवल युथले १६ ओभर ५ बलमा सबै विकेट गुमाएर जम्मा ६७ रन बनायो । उसलाई सस्तैमा रोक्न बुटवल–११ का थानेश्वर भट्टराईले ४ ओभर ५ बल बलिङ गर्दै २० रन खर्चेर सर्वाधिक ६ विकेट लिए ।
यस्तै, एजाज अहमदले ३ तथा विभेष खत्रीले १ विकेट हात पारे । बुटवल युथका हिलसन क्षेत्रीले १९ र कृष्ण पटेलले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
जवाफी ब्याटिङ गरेको बुटवल–११ ले १७ ओभर ४ बलमा २ विकेट गुमाएर ६८ रन बनाउँदै सहजै जित हात पार्यो । उसको जितमा सुजित श्रेष्ठले २८ र आकाश अर्यालले २५ रनको योगदान गरे ।
बलिङमा बुटवल युथका हिलसन क्षेत्री र लक्ष्मण केसीले १–१ विकेट लिए । खेलमा थानेश्वर भट्टराई प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।













प्रतिक्रिया